- ADVERTISEMENT -
- ADVERTISEMENT -

देउवाले दिए हस्तक्षेपविरुद्ध चेतावनी

March 4, 2019
1186
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भक्तपुर, २०७५ फागुन २०७५ नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।

नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज चांगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा बोल्दै उनले सो विचार व्यक्त गरेका हुन् ।

सभापति देउवाले सरकार प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न खोज्दैछ भन्ने आरोप लगाउँदै भने, ‘काङ्ग्रेसलाई यो कदापी स्वीकार्य हुँदैन ।’

सरकारले प्रेसमाथि पनि विभिन्न बाहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै उनले काङ्ग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने चेतावनी दिए ।

विसं १९९० मा भक्तपुरको सुडाल जितपुरफेदीमा जन्मिएर विसं २०११ देखि नेपाली काङ्ग्रेसबाटै राजनीतिक यात्रा शुरु गरेका स्वर्गीय पण्डित आन्दोलनकै क्रममा विसं २०१९ देखि २०३४ सालसम्म १६ वर्ष जेल बसेका थिए । प्रजातन्त्र ल्याउने पटक पटकको आन्दोलनमा सक्रिय सहभागी रहेका पण्डितको गत २०७४ फागुन १ गते निधन भएको थियो ।

कार्यक्रममा काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पण्डितको निधनले नेपाली काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको बताउँदै उनको योगदानको अनुशरण गर्दै पार्टी एक ढिक्का भएर अगाडि जानुपर्नेमा जोड दिए भने पार्टीका पूर्व जिल्ला सभापति तिलक कायस्थ, भक्तपुर क्षेत्र नं–१ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमली, नेता माथवरसिंह बस्नेत र युवा नेता यादव अधिकारीलगायतले प्रजातन्त्रका सेनानी पण्डितको योगदानको चर्चा गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -