काठमाडौं, १७ चैत्र २०७५ । नियमविपरीत भर्ना गरेर पढाउने कलेजलाई नेपाल विद्यार्थी सङ्घले कारवाहीको माग गरेको छ । नियमविपरीत विगत सात महिनादेखि महँगो शुल्क लिएर पढेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षा लिन अस्वीकार गरेको भन्दै नेविसङ्घले त्यस्ता कलेजमाथि कारवाहीको माग गरेको हो ।

नेविसङ्घका नेता नवराज त्रिपाठीले उपत्यकाका एपेक्स, राजधानी, सायम, युनिग्लोबलगायत कलेजले नियमविपरीत ३९१ विद्यार्थीलाई भर्ना गरेर परीक्षा दिने वातावरण नबनाएकाले आन्दोलन गरेको बताए ।

कलेजहरु शिक्षा दिने थलोभन्दा पनि ठग्ने थलोको रुपमा विकास हुँदै गएकाले संघ आन्दोलन गर्न बाध्य भएको उनको भनाई छ । क्याम्पसमा भर्ना गराउने तर परीक्षा दिनबाट बञ्चित गराउने राज्यको नीति ठिक नभएको तर्क उनले गरे ।

विद्यार्थीहरुले सात लाख शुल्क तिरेर पढे पनि परीक्षा दिन भने पाएका छैनन् । पीडित विद्यार्थीको भविष्य सुनिश्चित नगरेसम्म नेवि सङ्घले निरन्तर आन्दोलन गर्ने चेतावनी दिएको छ । विभिन्न कलेजमा आन्दोलन गर्ने क्रममा नेविसङ्घका ११ नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको राससले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्