काठमाडौं, चैत १७, २०७५ । लगानी सम्मेलनका क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारसँग सहकार्य गरी १० अर्ब भित्राउने घोषणा गरेको छ । सम्मेलनको अन्तिम दिन दुई पक्षविच सहमति पत्रमा हस्ताक्षर पनि भएको छ ।
एनआरएनएले गत वर्ष १० अर्ब रुपैयाँको पूर्वाधार कोष स्थापना गर्ने घोषणा गरेको थियो। सम्झौतासँगै उक्त रकम गैरआवासीय नेपाली संघले स्थापना गर्ने लगानी कम्पनीमार्फत भित्र्याउन एनआरएनएले स्वीकृति पाएको छ। १० अर्ब रुपैयाँ चुक्ता पुँजी हुने लगानी कम्पनीले आगामी एक वर्षभित्र गैरआवासीय नेपालीका लागि सेयर जारी गरी रकम संकलन गर्न सक्नेछ। गैरआवासीय नेपाली संघका सदस्यले मात्र सेयर लगानीकर्ताका रूपमा रहने र गैरआवासीय नेपाली प्रवद्र्धित लगानी कम्पनीले पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बताइएको छ।
सम्झौतासँगै गैरआवासीय नेपाली संघले कम्पनी दर्ता प्रक्रिया अघि बढाउने बताएको छ। कम्पनीको प्रबन्धपत्र, नियमावलीको मस्यौदा तयार भइसकेको एनआरएनए सचिवालयले जनाएको छ। चुक्ता पुँजीको कति प्रतिशत सेयर जारी गर्न पाउने, कति अवधिभित्र सेयर जारी गर्नेलगायत विषय तय हुन बाँकी रहेको एनआरएनए सचिवालयका सीईओ हेमन्त दवाडीले बताउनु भयो ।
जलविद्युतमा बाहेक विद्यमान व्यवस्थाले कम्पनी सञ्चालनमा आई तीन वर्ष निरन्तर नाफामा गएकाले सर्वसाधरणमा सेयर जारी गर्न पाउँछन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले भने ५१ प्रतिशत संस्थापक सेयर राखेर बाँकी सर्वसाधरणमा परिणत गर्न सकिने सुविधा दिएको छ। एनआरएनएले स्थापना गर्ने लगानी कम्पनीलाई ५१ प्रतिशत संस्थापक सेयर राख्नुपर्ने व्यवस्था भयो भने पनि त्यसका लागि ५ अर्ब १० करोड रुपैयाँ आवश्यक पर्छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले उद्योग, व्यवसायमा लगानी आकर्षित गर्न पनि पहिले पूर्वाधारको गुणस्तर नै सुधार गर्न आवश्यक भएकाले एनआरएनको लगानी कम्पनीमार्फत पूर्वाधारमा लगानी गर्न लागेको बताउनु भयो ।
उहाले एनआरएनले केही परियोजनाको तयारी गरिरहेको बताउँदै एनआरएनको सामूहिक लगानीबाट पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा योगदान गर्न बाटो खुलेको उल्लेख गर्नुभयो ।