काठमाडौँ, १२ चैत्र २०७५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विप्लव समूहलाई प्रतिबन्ध लगाएर सरकारले झन् उत्तेजित बनाउन खोजेको आरोप लगाएको छ ।

सिंहदरबारमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले विप्लवसमूहलाई प्रतिबन्ध लगाउनु बेठीक भएको ठहर गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । त्यस्तै बैठकले हत्या हिंसा र हतियारको राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव समूहलाई आग्रह पनि गरेको छ ।

सरकारले निषेधको राजनीति गर्न खोजेर द्धन्द निम्ताउने बाटोमा अघि बढेको कांग्रेसको ठहर छ । बैठकले संसदको हिउँदे अधिवेशनमा प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भए पनि सरकार संसदप्रति उत्तरदायी नदेखिएको निष्कर्ष निकालेको छ ।

यस बिषयलाई अर्को अधिवेशनमा पनि उठाउने प्रमुख सचेतक खाँणले बताए। त्यस्तै सरकारले पुरानै व्यवस्थाका आधारमा नै बिधेयक ल्याएको भन्दै त्यसप्रति बिशेष ध्यानाकर्षण गराउन दवावमुलक कार्य गर्ने उनले जानकारी दिए ।बैठकले केही विधेयकहरुप्रति पनि आपत्ति जनाएको छ ।संविधानले तीनै तहका सरकारलाई अधिकार प्रदान गरेको भए पनि सरकारले बढी अधिकार केन्द्रित गर्ने उद्देश्यले कतिपय विधेयक ल्याएको खाँडकाे टिप्पणी थियो ।

बैठकले राष्ट्रिय सुरक्षा परिषद्का काम, कर्तव्य र अधिकार, तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासम्बन्धी विधेयकका केही बुँदाले प्रधानमन्त्रीमा थप अधिकार केन्द्रित हुने निष्कर्ष निकालेको छ । साथै सूचना प्रविधिसम्बन्धी विधेयकका केही अंशले प्रेस स्वतन्त्रताको अधिकारलाई कुण्ठित गर्ने देखिएकाले प्रमुख सचेतक खाणले उक्त तीनै विधेयक संसद्बाट फिर्ता लिई सरोकारवालासँगको परामर्शमा परिस्कृत गरेर मात्र अघि बढाउन सुझावसमेत दिए ।

बैठकमा सभापति एवं सदंसदीय दलका नेता शेरबहादुर देउवाले सरकारको स्वेच्छाचारितालाई सदनले नै रोक्ने हो भन्दै संसद्मा सङ्गठित रुपमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए । साथै उनले प्रजातान्त्रिक शासन प्रणालीमा सरकारले शक्ति पृथकीकरण र सन्तुलनका सिद्धान्तलाई गम्भीर रुपमा लिनुपर्ने बताएकाे प्रमुख सचतेक खाणले जानकारी दिए । त्यस्तै बैठकले पार्टीले गठन गरेको छाँया सरकारलाई पूर्णता दिई प्रभावकारी रुपमा अघि बढाउने जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्