पोखरा, ६ चैत्र २०७५ । नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा मंगलबार पत्रकार भेटघाट गरी चैत्र २८ र २९ गते सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।

सम्मेलनको उद्घाटनसत्र चैत्र २८ गते पोखरा सभागृहमा हुनेछ । उद्घाटनसत्रलाई पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल सहित शिर्ष नेताहरुले सम्वोधन गर्ने बताएको छ ।

कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन पार्टीलाई चलायमान र सुदृढिकरण बनाउनका लागि हो, नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले भने – ‘यसले पार्टीलाई शशक्त ढंगबाट अघि बढाउन सहयोग गर्नेछ।’ उनले सम्मेलनले पार्टीलाई गुट उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने उल्लेख गरे ।

सम्मेलनले विदेश पलायन युवाहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने बताइएको छ ।

त्यस्तै, सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्नका लागि केन्द्रलाई आग्रह समेत गर्ने छ । पार्टीभित्रको एकतासँगै सरकारका गतिविधिप्रति पनि खवरदारी गरिने छ, समितिकी महासचिव लक्ष्मी पाण्डेले भनिन् – ‘सम्मेलन पार्टीलाई व्यवस्थित बनाउन र सरकारलाई खवरदारी गर्न सफल हुनेछ ।’

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष बाबुकृष्ण सापकोटा, कोषाध्यक्ष रेशम गुरुङ, बरिष्ठ सदस्य महेन्द्र थिङ र नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले बोलेका थिए । यसैबीच, नेपाली काँग्रेस कास्कीको सोमबारको बैठकले कोषाध्यक्षहरुको सम्मेलनलाई सहयोग गर्नका लागि विभिन्न समितिहरु गठन गरेको छ ।

बैठकले देवेन्द्र रानाभाटको संयोजकत्वमा मञ्च व्यवस्थापन, लक्ष्मी पाण्डेको संयोजकत्वमा अर्थ व्यवस्थापन, नवीन सिग्देलको संयोजकत्वमा प्रचारप्रसार, ओमप्रकास गुरुङको संयोजकत्वमा स्वयंसेवक परिचालन, केवल गिरीको संयोजकत्वमा भोजन व्यवस्थापन र लक्ष्मण पहारीको संयोजकत्वमा आवस व्यवस्थापन समिति गठन गरेको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्