काठमाडौँ, चैत ६ गते । फाल्गुण शुक्ल पूर्णिमाका दिन आज राजधानी तथा मुलुकका पहाडी भेगमा मन मिलेकाबीच अबिर दलेर फागुु पर्व मनाइँदैछ । छोरा प्रह्लाद विष्णुभक्त भएको आक्रोशमा हिरण्यकश्यपुले आफ्नै बहिनी होलिकाको काखमा प्रह्लादलाई सुताएर आगोमा दहन गर्न खोजेका थिए तर प्रह्लाद सकुशल रहे भने होलिकाको मृत्यु भयो । यसै खुसियालीमा पौराणिक कालदेखि यो पर्व मनाइँदै आएको शास्त्रमा वर्णन गरिएको छ ।

तराई क्षेत्रमा भने भोलिपल्ट यो पर्व मनाउने प्रचलन छ । फागु पूर्णिमा पूर्वी फाल्गुनी नक्षत्रमा लाग्ने हुँदा यसको स्वामी शुक्रग्रह रहेकाले यो पर्व रतिराग, प्रेम, सौन्दर्य र यौवनतासँग सम्वद्ध रहेको ज्योतिषी डा. सुनिल सिटौला बताउनुहुन्छ ।

यही बेला वसन्त ऋतुको आगमन हुने भएकाले वसन्तोत्सव वा मदनोत्सवको रूपमा पनि यो पर्व मनाइन्छ । वसन्त ऋतुलाई कामवासनायुक्त मानिन्छ । काठमाडौँको हनुमानढोका दरवारस्थित मोहनकालीचोकमा भगवान् कृष्णको मूर्तिका साथमा वरिपरि अर्धनग्न अवस्थाका नौ गोपिनीको मूर्ति स्थापना गरेर वसन्तपुर दरवार परिसरमा रङ्गीचङ्गी कपडाको चीर ठड्याएपछि यो पर्व सुरु हुन्छ ।
फाल्गुण शुक्ल अष्टमीका दिन धायलख्वाका मानन्धर समूहले यो चीर ठड्याउँछन् भने मोहनकाली चोकमा दरवारका पर्व पूजा संयोजक मिठाराम पुडासैनी र पुरोहितले कृष्ण र गोपिनीको मूर्ति स्थापना गरेर पूजाअर्चना गर्नुहुन्छ । यसै दिनदेखि यहाँ पर्वको उमङ्ग सुरु हुन्छ । यसै दिन भक्तपुरको दत्तात्रय मन्दिरको दलिनमा उत्तेजित अवस्थाको काठको अजङ्गको लिङ्ग र रातो कपडाको अजङ्गकै योनी आकृतिलाई समागम स्वरूपमा राखेपछि पर्वको सुरुआत हुन्छ । फागु पर्वमा शिक्षण संस्था बन्द हुने भएकाले कतिपय शिक्षण संस्थाका विद्यार्थी मन मिल्ने साथीसङ्गीबीच अबिर दलेर फागु खेल्छन् ।

पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार बुधबार पशुपति आउन नभ्याउनेले मङ्गलबारै पशुपतिनाथमा फुका अबिर अर्पण गरे । रानीपोखरीस्थित सोह्रहाते गणेशलाई पनि अबिरपानीको लोला प्रहार गर्दै अबिर चढाइएको छ । यस पर्वका अवसरमा घर जान नपाएका तराईबासीले काठमाडौँ उपत्यकामै आपसी सद्भावका साथ फागु खेल्ने तयारी गरेको ओम् बोलबम कावँरिया सङ्घका अध्यक्ष सुनिल ठाकुर बताउनुहुन्छ । ठाकुरका अनुसार बोलबम, विश्वकर्मापूजा र छठ जत्तिकै यो पर्व बिहीबार धुमधामसाथ यहाँ मनाइँदैछ ।

होलीमा पनि विभिन्न लुगा लगाउने फेसन बढ्दो छ । यस पर्वमा विशेष गरेर सेतो रङका लुगा लगाउने प्रचलन छ । होलीमा ‘ह्याप्पी होली’, ‘दाजुभाइ होली’, ‘होली खेलौँ’, ‘रमाइलो होली’, ‘होली है’लेखिएका सेतो रङका टिसर्ट लगाउने प्रचलन बढेको नयाँ सडकका लुगा व्यापारी हरि काफ्ले बताउनुहुन्छ ।

उहाँका अनुसार होलीमा सेतो रङका ‘प्रिन्टेड टिसर्ट’ र ‘ग्रन्ज पेन्ट’ राम्रो सुहाउँछ । होली खेल्दा आफूलाई ‘फेसनेबल’ र ‘युनिक’ देखाउन चाहनेका लागि यो पर्व राम्रो अवसर हो ।

होली मनाउन विभिन्न समूह बनाएर खेल्ने प्रचलन अचेल निकै बढ्दो छ । होली खेल्दा अबिर र पानीसँग नाच्ने, गाउने भएकाले यो बेला हलुका पहिरन राम्रो हुने फेसन डिजाइनर उमा नेम्कुलले धारणा व्यक्त गर्नुभयो ।

उहाँले सेतो रङको कुर्ती, सुरुवाल र रातो रङको सल लगाउँदा ‘ट्रेडिसनल लुक्स’ देखिने जानकारी दिनुभयो । कुर्ता लगाउँदा सालीन र फेसनेबल देखिने तथा खुला लुगा लगाउन रुचाउनेहरूको रोजाइमा पटेला कुर्ता सेट पर्ने गरेको बताउनुभयो ।

यसैबीच,महानगरीय प्रहरी परिसर काठमाडौँले शान्ति, सद्भाव र रङको पर्व फागु(होली) मर्यादित र सभ्य ढङ्गले मनाउन आग्रह गरेको छ ।
होली मनाउने नाममा विकृति फैलाउनेविरुद्ध कानुनी कारबाहीका लागि बुधबार एक दिनलाई विशेष सुरक्षा योजना सञ्चालन गरिने जनाइएको छ ।

परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले होली खेल्ने क्रममा विकृति फैलाउनेविरुद्ध विशेष कारवाही अभियान नै सञ्चालन गरिएको बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्