काठमाण्डौँ, चैत्र ४ । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले विप्लवमाथि हतारमा अराजनीतिक र अपरिपक्क निर्णय गर्दै प्रतिबन्ध लगाएको बताएका छन्।सत्तारुढ नेकपाले विप्लवको पार्टीलाई लुटेरा भन्नु नैतिक रुपमा पनि नमिल्ने संयोजक भट्टराईले बताए ।
‘राज्य आफैले लुटतन्त्रलाई संस्थागत गरिरहेको अवस्थामा विद्रोही शक्तिलाई लुटेरा चित्रण गर्ने नैतिक तथा राजनीतिक अधिकार कमजोर हुने भट्टराईको भनाई छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवाद उन्मुख रहेको समेत बताएका छन्। सरकारले राष्ट्रिय सुरक्षा परिषदको अधिकारलाई कुण्ठित गरी सिधै सेना परिचालन गर्न सक्ने विधेयक मस्यौदा बनाउनु प्रधानमन्त्रीको महत्वकांक्षा, स्वेच्छाचारिता र अधिनायकवाद उन्मुख सोचको परिचायक भएको बताए।
नयाँ शक्ति पार्टी नेपालले टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।
टीकापुर घटना राजनीतिक विद्रोह हो भन्दै यसलाई आपराधिक घटनाका रुपमा ब्यवहार गर्नु अन्यायपूर्ण भएको नयाँ शक्तिको भनाइ छ । ‘अतः टीकापुर विद्रोहलाई राजनीतिक रुपले नै संबोधन गरिनुपर्छ र मानीय रेशम चौधरीलगायत सबै अविलम्ब रिहा हुनुपर्छ’ नयाँ शक्ति पार्टीले भनेको छ ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका अपराधीलाई सरकारले पक्राउ गर्न नसकेको भन्दै सरकार पूर्णतः असफल भएको निष्कर्षमा आफूहरु पुगेको भट्टराईले बताए।