काठमाडौं, १ चैत्र २०७५ । माया–प्रेम, विछोड र जिम्मेवारीको कथामा आधार रहेर तयार भएको चलचित्र ‘जानी नजानी’ आज चैत्र १ गतेदेखि देशभर प्रदर्शन सुरु भएको छ ।
प्रेम र जीवनको सौन्दर्य साथै प्रेमको शक्तिले मानिसलाई सफलतातर्फ डोहोर्याएको कथालाई समेटेर निर्देशक बसन्त अधिकारीले चलचित्र तयार गर्नु भएको हो ।
उक्त चलचित्रमा मनिष श्रेष्ठ, निरिषा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीको मुख्य भूमिका रहेको छ ।
चिन्तन,साधना र लेखनमा क्रियासिल पुराना पत्रकार मोदनाथ खनालको मुख्य लगानी रहेको चलचित्र रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्माण गरिएको हो । यसमा सागर काजी मालीले पनि निर्माणमा सहयोग गरेका छन् ।
चलचित्रको कथा, पटकथा तथा संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । संगीत अर्जुन पोखरेलले दिएका छन् भने सञ्जय लामाको छायाँकन, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी तथा अर्जुन जिसीको सम्पादन रहेको छ ।
चलचित्रमा जिम्मेवारीबाट पन्छिएको एक धनाढ्य बाबुको छोरालाई यूवतीले कसरी जिम्मेवारी बहन गर्न सिकाउँछिन् भन्ने देखाइएको छ ।
चलचित्रमा पहिलो पटक लगानी गरेका मोदनाथ खनाल यसबाट आफूले सफलता प्राप्त गर्नेमा विश्वस्त छन् । मान्छेको जीवन नै नजानीकन सुरु हुने भएकाले नजानीकन नै लगानी गरेर सफलता पाउने उहाले दाबी गर्नु भएको छ ।
फरक कथाबस्तु भएकाले दर्शकले रुचाइदिनेमा खनाल आशावादी छन् । प्रेम र जीवनको सौन्दर्यलाई चलचित्रले मजाले उठान गरेकाले प्रेमबाट उर्जा साथै सिर्जना मिल्ने भएकाले दर्शकहरुका लागि नयाँ स्वाद हुनसक्ने उहाको भनाइ रहेको छ ।