विराटनगर, फागुन १३

कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्ने अडान राख्नुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले सो अडान राख्नुभएको हो ।

उहाँले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने प्रष्ट पार्नुभयो । ‘१४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्छ, पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न हुन्न,’ कोइरालाको भनाई थियो । उहाँले सभापति देउवालाई गैरजिम्मेवार नेताको संज्ञा पनि दिनुभयो ।

‘पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लाग्छ भने त्यसमा मेरो केही भन्नु छैन, पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार होइन,’ कोइरालाले भन्नुभयो ।

केन्द्रीय सदस्य डा कोइरालाले सङ्गठनलाई मजबुत बनाउन १४औँ महाधिवेशनका लागि केन्द्रीय समितिले अहिलेदेखि नै अभियानमा लाग्नुपर्ने भन्दै नेपाल विद्यार्थी सङ्घमा भएको विवादले परिणाम राम्रो नदिने सङ्केत गर्नुभयो ।

उहाँले नेपाल विद्यार्थी सङ्घमा लाग्ने विद्यार्थीको उमेरको हद ३२ वर्ष रहेको र यसलाई बढाउने वा नबढाउने कुरामा पार्टीमा छलफल भइरहेको बताउनुभयो । उहाँले न्यायपालिकालाई निरीह हुन नदिन र शान्तिसुरक्षालाई कसिलो बनाउन सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्