- ADVERTISEMENT -
- ADVERTISEMENT -

असहमतिबीच काँग्रेसको विधान पारित

February 25, 2019
827
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौंँ, फागुन १३ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमितिबाट पारित विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित बहुमतबाट पारित गर्ने निर्णय गरेको छ । विधानका दुईवटा विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असहमतिबीच विधान पारित भएको हो ।
बहुमतबाट पारित भएको विधानमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने छन् भने आरक्षण कसलाई अवसर दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकार पार्टी पदाधिकारीमा कायम रहेको छ । यो प्रावधान पुरानै विधानमा थियो । गएको पुस ८ मा सकिएको महासमिति बैठकले पारित गरेका प्रस्तावलाई लागू गर्न कांग्रेसलाई दुई महिना थप समय लागेको छ ।

विधानमा केन्द्रीय सभापतिदेखि केन्द्रीय सदस्यसम्म तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने र आरक्षणमा प्रतिनिधित्व गराउँदै पटक पटक एउटै व्यक्तिलाई अवसर दिन नहुने भनाइ वरिष्ठ नेता पौडेल समूहले राख्दै आएको थियो । सहमतिकै प्रयासका लागि माघ १० गतेबाट जारी केन्द्रीय समितिको बैठकमा आमसहमति हुने सम्भावना नदेखिएपछि बहुमतबाट पारित गरिएको जानकारी दिइएको छ । उपसभापति विमलेन्द्र निधिले दुईवटा विषयमा सहमति हुन नसकेको र अरु विषयमा सर्वसम्मत रुपमा प्रस्ताव पारित भएको बताउनुभयो ।
उहाँले कांग्रेसका सबै पदाधिकारी निर्वाचित हुने निर्वाचन प्रणाली छ र आठवटा आरक्षणको क्लस्टरलाई कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । अब कांग्रेसका तल्लो तहदेखि माथिल्लो निकायसम्म महिलाको प्रतिनिधित्व कम्तीमा ३३ प्रतिशत सुनिश्चित भएको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा आइतबार बसेको बैठकले विभिन्न थप प्रस्तावहरु पारित गरेको छ । केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार बैठकले महासमिति बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा प्रस्तुत महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत नेपाली कांग्रेसको आर्थिक नीति प्रस्ताव परिमार्जनसहित पारित गरेको छ ।
यसैगरी, बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बैठकले महामन्त्री पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत नेपाली कांग्रेसको विधान संशोधनको प्रस्ताव परिमार्जनसहित पारित गर्ने निर्णय गरेको जनाइएको छ ।

पौडेल समूहको अहसमति
वरिष्ठ नेता पौडेलले पार्टीका केन्द्रीय पदाधिकारी तलबाटै निर्वाचित हुनुपर्ने र आरक्षणमा एकै व्यक्तिलाई पटक पटक अवसर दिनु हुन्न भन्ने पक्षमा आफूहरु रहेको र त्यसमा बैठकमा असहमति (नोट अफ डिफेन्स) लेखेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘महासमितिबाट सर्वसम्मत पारित भएका दुई विषय केन्द्रीय पदाधिकारी तलबाटै आउनुपर्ने र समावेशी समानुपातिक प्रतिनिधित्वको अवसर एकै व्यक्तिलाई पटकपटक दिनु हुन्न भन्ने पक्षमा प्रस्ताव पारित भएको थियो र त्यसमा सभापतिले समेत रुलिड. गर्नुभएको हो तर अहिले केन्द्रीय समितिले महासमितिको सर्वसम्मत निर्णयलाई उल्टाएको छ ।

यसैबीच, बैठकले हालै देशका केही स्थानमा भएका बम विष्फोटका घटना र त्यसबाट भएको जनधनको क्षतिलाई गम्भीर रुपमा लिंदै त्यसप्रति गहिरो दुःख व्यक्त गरेका छ । साथै बैठकले यस्तो आततायी कामको घोर निन्दा पनि गरेको छ ।
संसदमा हालै दर्ता भएको सूचना प्रविधिसम्बन्धी विधेयकले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रालाई नै असर पर्ने र गर्ने गरी निर्मित प्रावधानहरुप्रति बैठकले गम्भीर चासो, चिन्ता र आपत्ति प्रकट गरेको छ । कांग्रेसको अर्को बैठक फागुन १४ गते बिहान पुनः बस्नेछ ।

नेविसंघका नेताहरूबीच झडप
कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार धर्नामा बसेको सभापति देउवा र अर्को पक्षबीच झडप भएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आउने क्रममा सभापति देउवा पक्षले अवरोध गरेपछि बाटो खुला गर्ने विषयमा विवाद भएपछि झडप भएको थियो ।

नेविसंघका नेता सुशील भट्टका अनुसार, धर्ना बस्नलाई मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवा पक्षलाई पश्चिम प्रवेश ढोका र अर्को पक्षलाई पूर्वी ढोकामा अनुमति दिनुभए पनि देउवा पक्षमा पूर्वी ढोकामा आएर धर्नामा बसेपछि विवाद भएको हो । दुवै पक्षबीच भएको झडपमा कम्तीमा सातजना विद्यार्थी घाइते भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -