काठमाडौँ, फागुन १२ गते । महासमिति बैठकले पारित गरेका पार्टीको विधान, राजनीतिक प्रस्ताव र आर्थिक प्रस्तावलाई लागू गर्ने विषयमा सहमति खोज्दाखोज्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई महिना बिताएको छ । राजनीतिक प्रस्ताव र आर्थिक प्रस्तावमा सहमति जुटे पनि विधानका विषयमा सहमतिको हलो अड्किएको छ ।

गएको पुस ८ गते महासमितिको बैठक सकिए पनि कांग्रेसले विधानलाई अझै अन्तिमरूप दिन सकेको छैन । विधानमा रहेको मुख्य विवादका विषयमा सभापतिदेखि केन्द्रीय सदस्यसम्म सबै बुथ कमिटिबाटै निर्वाचित भएर आउनुपर्ने र सरकारी तथा पार्टीको पदमा आरक्षणको अवसर एकपटक मात्रै दिनुपर्ने वा अहिलेकै प्रावधान राख्ने भन्ने विषय मुख्य छन् ।
सभापति शेरबहादुर देउवासहितका नेताहरू सभापतिदेखि केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने अहिलेकै व्यवस्थालाई निरन्तरता दिन चाहनुहुन्छ । उता वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू सभापतिदेखि केन्द्रीय सदस्यसम्म सबै बुथ कमिटिबाटै निर्वाचित भएर आउनुपर्ने र सरकारी तथा पार्टीको पदमा आरक्षणको अवसर एकपटक मात्रै दिनुपर्ने पक्षमा हुनुहुन्छ ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘‘महासमितिको भावनाअनुसार सबै विषयलाई लागू ग¥यौं भन्ने मेरो धारणा हो । सभापति र उहाँको बहुमत पक्ष अहिलेको यथास्थितिमै विधान लागू गर्नुपर्छ भन्नेमा हुनुहुन्छ । यथास्थितिमै गर्ने भए गर्नुहोस्, तर म महासमितिको भावनाविपरीत जान सक्दिनँ भनेको छु । त्यसैमा कुरा अड्किएको छ ।

विधान मस्यौदा समितिका संयोजकसमेत रहनुभएका महामन्त्री पूर्णबहादुर खड्काले विधानको केही विषयलाई लिएर छलफल जारी रहेको, कुनै कुनै कुरा नमिलेको र सहमति गर्ने प्रयास जारी रहेको बताउनुभयो ।

सभापति देउवा पक्षका नेताहरू सकभर पार्टीभित्र सहमतिको वातावरणमै हाल भएको विधानकै प्रावधानलाई लागू गर्ने पक्षमा रहनुभएको छ । वरिष्ठ नेता पौडेलसहितका नेताहरु त्यसमा सहमत नभएपछि विधान लागू गर्ने विषयमा कांग्रेसमा केन्द्रीय कार्यसमितिको बैठक बस्ने अनि फेरि सर्ने क्रम जारी छ ।

पार्टीको विधानलाई कार्यान्वयन गर्ने क्रममा गएको माघ १० गतेबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पटक पटक बस्दै स्थगित हुँदै आएको छ । बैठक बस्न थालेको एक महिना पुगेको छ, तर सहमतिको सूत्र फेला परेको छैन । संस्थापन पक्ष फर्काउने र गलाउने पक्षमा रहे पनि अर्को पक्ष टसमस नभएपछि सहमतिको प्रयास निरर्थक हुँदै आएको छ । कांग्रेस कार्यसमिति बैठक आइतबार पनि बस्दैछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्