काठमाडौं, फागुन ९

नागरिकता लिन योग्य ५७ लाख नागरिक नागरिकताविहीन भएको पाइएको छ । २०६८ सालको जनगणनाअनुसार १ करोड ४० लाख ३० हजार २ सय ७१ जनाले नागरिकता लिएका थिए । यस्तै, गृह मन्त्रालयको तथ्यांकअनुसार २०६९ मा १ करोड ४२ लाख ५० हजार ३ सय ७, २०७० मा १ करोड ५३ लाख ७६ हजार ७ सय ३७ जनाले नागरिकता लिएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२०७१ मा १ करोड ५८ लाख १९ हजार ६ सय ५७ जनाले नागरिकता लिएका थिए भने सो अवधिसम्म नागरिकता नपाउनेको संख्या ४६ लाख ७७ हजार ५३ जना रहेको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ । तर, यो संख्या अहिले बढेर ५७ लाख पुगेको विभिन्न अध्ययनले देखाएको छ ।

सरोकारवाला निकायले विभिन्न अध्ययनको आधारमा गरेको प्रक्षेपणअनुसार आव २०७५ सम्म आइपुग्दा मुलुकमा नागरिकता पाउनयोग्य भएर पनि नागरिकता नपाउनेको संख्या ५७ लाख पुगेको हो । नागरिकता नपाउँदा सरकारले दिने सुविधाबाट वञ्चित भइरहेका छन् ।

गृह मन्त्रालयका अनुसार नागरिकता नपाउनेहरूमा बुबाआमाको पहिचान नभएका, मौसमी कामदारलगायत प्रकृतिका छन् । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नयाँ नागरिकता ऐन आएपछि नागरिकता वितरणमा सहज हुने बताउनुभयो ।

‘नागरिकता पाउन योग्य नेपालीले सहज तरिकाले नागरिकता पाउनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘अहिले संसद्मा नागरिकता विधेयक विचाराधीन अवस्थामा छ । सो विधेयक संसद्बाट पारित भएपछि केही सहज हुन्छ ।’

नागरिकता वितरणका लागि घुम्ती केन्द्रहरू नियमित नहुँदा नागरिकताविहीनहरूको संख्या अत्यधिक देखिएको छ । अधिवक्ता मीरा ढुंगानाले सरकारले नेपाली नागरिकहरूलाई कानुनले दिएअनुसार आफ्नो अधिकार उपभोग गर्नबाट वञ्चित गर्न नहुने बताउनुभयो ।

नागरिकता प्राप्तिको अधिकार क्षेत्रमा कार्यरत सविन श्रेष्ठले कानुनी पहिचान प्रदान गर्ने प्रमुख आधार नागरिकता प्रमाणपत्र भए पनि ऐन जटिल हुँदा समस्या भएको बताउनुभयो ।

नेपालको संविधान २०७२ को धारा १० र १२, नेपालको नागरिकता ऐन, २०६३ को ३ ९१० ले कुनै पनि नेपालीलाई नागरिकताबाट वञ्चित गर्न नमिल्ने व्यवस्था छ । यस्तै, बुबाआमा नेपाली नागरिक हुन् भने निजका सन्तानले वंशजकै आधारमा नागरिकता लिन सक्नेछन् । विवाहित छोरीले आमाबुबा वा श्रीमानको नामबाट नागरिकता लिन सक्ने कानुनी व्यवस्था छ ।

नेपालको संविधान, २०७२ को भाग २ मा नागरिकतासम्बन्धी महलमा संविधान प्रारम्भ भएको समयमा नेपालमा स्थायी बसोबास भएको व्यक्ति वंशजका आधारमा नेपालको नागरिक ठहर्ने उल्लेख छ ।

नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजका आधारमा नेपालको नागरिक ठहर्ने र नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नेपालको नागरिकता प्रदान गरिने उल्लेख छ तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानुनबमोजिम अंगीकृत नागरिकतामा परिणत हुने संविधानमा उल्लेख छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्