काठमाडौं, ६ फागुन २०७५ । प्रतिनिधिसभाको आजको बैठकमा गायक पशुपति शर्माले गाएको लोकदोहोरी गीतलाई लिएर प्रमुख प्रतिपक्षी र सत्तापक्षका सांसदबीच दोहोरी चलेको छ । बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मा ‘जनगायक’ रहेको भन्दै सरकारले उनले गाएको गीत प्रतिबन्ध लगाउनुले लोकतन्त्र कहाँ छ भनेर प्रश्न उब्जिएको बताए। सिंहले नागरिकको भावना समेटेर शर्माले गीत गाएको भन्दै त्यसको सम्मानस्वरुप आफूले पाउने फागुन महिनाको तलबबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे ।
शून्य समयमा बोल्ने समय पाएका सत्तारुढ दलका सांसद झपट रावलले सिंहलाई जवाफ दिंदै गायक शर्माले गाएको गीत सिंहलाई गाउन चुनौती दिँदै त्यसरी गाए आफ्नो एक महिनाको तलब नै दिने घोषणा गरे । रावलले भने, ‘पुरस्कार घोषणा गर्ने सांसदले यही गीत गाए एक महिनाको तलब दिन्छु ।’
रावलले शर्माको गीत प्रायोजित रुपमा आएको रहस्य प्रतिपक्षी सांसदले पुरस्कारको घोषणा गर्नुले सत्य बाहिरिएको दाबी गरे। यसअघि सिंहले भने, ‘दुइ तिहाईको सरकारको अगाडि त्यस्तो गीत गाउन पाइन्छ ? जनताको भावना व्यक्त गर्न पाइन्छ ? भन्ने खालको व्यवहार सरकारले देखाएको बताउँदै त्यस्तोलाई त मुखमा ताला लगाउनुपर्छ । सुन्नेको कानमा मर्करी र सिसा पगालेर राख्नुपर्छ भन्ने सरकारको बुझाइले लोकतन्त्र कहाँ छ भन्ने प्रश्न उब्जेको छ ।’
‘सरकारले जनताको भावना, बुद्धिजीविको भावना, गायकको भावनालाई सम्मान गर्न जान्दैन भने जनताले पनि यो सरकारलाई सम्मान गर्न सक्दैन,’ सिंहले भने, ‘जनताको भावना अनुसार सरकार चल्नु पर्छ ।’
शर्माले यसअघि सुशील कोइराला प्रधानमन्त्री भएको समयमा ‘जापान पनि यही, अमेरिका पनि यह’ भनेर गाएको र अहिले आएर सरकारलाई राक्षस, यमराज र कुकुरको संज्ञा दिएर देश लुट्न प्रेरित गरेर गीत गाउनुले उनी प्रतिपक्षीबाट परिचालित भएको देखिएको दाबी रावलले दावी गरे।
सिंहको भनाइप्रति व्यङ्ग्य गर्दै रावलले भने, ‘गीत गाउन सरकारले कुनै पनि प्रतिबन्ध लगाएको छैन, भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षीलाई गायक पशुपतीले रक्षा गरून, धन्यवाद ।’