काठमाडौं, ३ फागुन २०७५ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रवासीको नाममा गरिएको सम्बोधनमा अहंकार प्रकट भएको बताएका छन् ।
काँग्रेस नेता गगन थापा फरक मत राख्नेमाथि असहिष्णु तरिकाले प्रस्तुत भएको बताउँछन् । ‘प्रधानमन्त्रीज्यूको भाषाशैली र प्रस्तुति हेर्दा अहंकार तुष्टिको अर्को श्रृखंला थप्नका लागि मात्रै सम्बोधन गर्नु भएको हो कि जस्तो लाग्यो ।’ उहा भन्नु हुन्छ ।
सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा गरिएको सम्बोधनले प्रधानमन्त्रीले भने जस्तो पहिलो वर्ष आधार वर्ष हो भनेर उत्साह जगाउन नसकेको नेता थापाको भनाइ छ । उनी पहिलो वर्षमा कमी कमजोरी नै नभए जसरी प्रस्तुत हुँदा सरकारले अधिकतम गर्न सक्ने नै यति रहेछ भने जनतामा थप निराशा पैदा हुने बताउँछन् ।
अर्थतन्त्रको आंशिक पक्ष मात्रै देखाएर भ्रम छर्न खोजिएको थापाको आरोप छ । ‘तथ्यांकमा खेल्न मन लाग्दैन भन्दै आफू अनुकुलको तथ्यांक प्रस्तुत गर्नुभयो ।’ उहाले भन्नुभयो ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा ओली आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्न चुकेको बताउनु भयो । ‘मैले धेरै काम गर्छु भनेको थिएँ, केही पुरा भए, नसकेको चार वर्षमा पुरा गर्छु भन्नु भएको हुन्थ्यो’ शर्मा भन्छन्, ‘गल्ती कमजोरी नै छैन भनिसकेपछि त के आशा गर्नु ?’
समयमा बजेट खर्च नभएको, व्यापार घाटा बढेको, शेयर बजार घटेको देख्दादेख्दै राम्रै–राम्रो भयो भन्दा कसैले नपत्याउने प्रवक्ता शर्माको भनाइ छ । ५ फागुनमा पत्रकार सम्मेलनमार्फत सरकारको एक वर्षे कार्यकालबारे काँग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्ने उहाले जानकारी दिनुभयो ।