काठमाडौं,१ फागुन २०७५ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले काम नगरी बसेका सबैले बेरोजगार भत्ता नपाउने बताउनु भएको छ । उहाले यसका विषयमा अफवाह फैलाइएको बताउदै निश्चित मापदण्ड पुगेकाले मात्र यो कार्यक्रममा सहभागी हुन पाउने बताउनु भयो ।
‘निश्चित मापदण्ड पुगेका बेरोजगार मात्र प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुन पाउनेछन्’, उहाले अगाडी भन्नुभयो,‘ निरपेक्ष गरिबीको रेखामुिन रहेका, वैदेशिक रोजगारीमा नगएका तथा सरकारले तोकेको सीमा भित्र रहेका परिवारका एक सदस्यले मात्र कार्यक्रममा सहभागी हुन पाउने छन् ।’ मन्त्री बिष्टले सबै बेरोजगारलाई यो कार्यक्रमले नसमेट्ने उल्लेख गर्नुभयो । गरिब तथा बिपन्न परिवारको आर्थिक अवस्था सुधारका लागि सरकारले यो कार्यक्रम सुरु गर्न लागेको भन्दै मन्त्री बिष्टले आगामी चैत्रभित्रमा देशभरका बेरोजगारको तथ्याङ्क सरकारले संकलन गर्ने बताउनुभयो ।
एक पटक बेरोजगारको सूचीमा समावेश भएका व्यक्तिले बीचैमा काम छाडे उसलाई सूचीबाटै हटाईने उल्लेख गर्दै मन्त्री बिष्टले यो कार्यक्रमलाई सरकारले कडाईका साथ कार्यान्वयनमा लैजाने उल्लेख गर्नुभयो । बिपक्षी दलहरु भने जस्तो कार्यकर्ता मात्र पोस्ने कार्यक्रम नभएको जिकिर गर्दै उहाँले त्यसको ब्यबहारिक पाटोको विश्लेषण पछि मात्र त्यसको जवाफ स्वत आउने बताउनु भयो ।