काठमाडौं, माघ २९
महासमिति बैठकले पारित गरेका विषयमा केन्द्रीय सदस्यले नै फरक मतसहितको अडान राखेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र बिवाद बढेर गएको छ ।
सभापति शेरबहादुर देउवा निकट अधिकांश नेताहरु महासमितिले पारित गरेको भन्दा केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुनुपर्ने अडानमा उभिएपछि कांग्रेस केन्द्रीय समितिले अझै विधानलाई अन्तिम रूप दिन सकेको छैन।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने महासमिति बैठकको सुझावमा नेताहरुको फरक मत आएको हो।
‘महासमितिको निर्णय नमान्ने हो भने केन्द्रीय समिति र पार्टी कार्यकर्ताबीचको दूरी बढेर जान्छ,’ बैठकमा केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले भन्नुभयो, ‘यसले पार्टीलाई हित गर्दैन। केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुने गरी नै विधानमा समेटिनुपर्छ।’
विधानमा एउटा वडाबाट १५ जना प्रतिनिधि निर्वाचित गर्नुपर्ने व्यवस्था राख्न सुझाव दिइएको छ। यसअघि कांग्रेसमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचनबाट नभई सिधै महाधिवेशन प्रतिनिधि हुन पाउने विधानमा व्यवस्था थियो।
‘केन्द्रीय सदस्यजस्तो व्यक्ति वडामा यति धेरै प्रतिनिधिबीच निर्वाचित नहुने भन्ने नै हुँदैन’, बडुले बैठकमा भन्नुयभो, ‘किन हामी तल्लो तहबाट निर्वाचित भएर आउन डराउने ? यसले त संगठनलाई नै फाइदा गर्छ।’
कुन नेता कता ?
# केन्द्रीय सदस्यहरू बुथबाटै लड्नुपर्ने विषयमा सभपाति र नेताले नै महासमिति बैठक समापनमा बोल्नुभएको छ । केन्द्रीय नेता भइसकेका नेता गाउँ स्तरबाटै लडेर आउन डराउनु हुन्न । समानुपातिकमा कुनै पनि नेतालाई एकपटकभन्दा दुईचोटी लड्न दिनुहुुन्न : अर्जुननरसिंह केसी
# केन्द्रीय सदस्य निर्वाचित भएर मात्रै महाधिवेशन प्रतिनिधि हुन पाउँछन भन्नेबारेमा सभापति र नेताले प्रतिज्ञा नै जनाइसक्नुभएकोछ । महासमितिमा हुन्छ भनेपछि अब पछाडि फर्किन पाइन्न : डा मिनेन्द्र रिजाल
# नेताहरू महासमिति बैठक सफल भयो भनेर गर्व गर्नुहुन्छ । तर, महासमितिले के निर्णय गर्यो भनेर प्रष्ट पार्न सक्नुहुन्न । नेताहरूले प्रष्ट नपारेकोले नै अहिले यो ‘डिबेट’ भएको छ । महसमितिले केन्द्रीय सदस्यलाई निर्वाचित भएर आउनुपर्ने, समानुपातिकमा नेता दोहोर्याउन नहुने विषय उठायो । सभापति र नेताद्वयले महासमितिको यो विषयलाई पूरा गर्ने आश्वासन दिएपछि मात्रै प्रस्तावहरू पारित भएका हुन् । साथै, केही नेताहरू यो कुरा थोरै मान्छेले उठाएको भन्नुहुन्छ । तर, केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुनुपर्छ भनेर एक जनाले पनि नउठाउँदा निर्वाचित भएर आउनुपर्ने विषय उठाउने हामी नै धेरै छौं । महासमितिले पारित गरिसकेको यो विषयलाई उल्टाउने अधिकार केन्द्रीय समितिलाई छैन : प्रदीप पौडेल
# धेरै संस्थामा केन्द्रीय नेतालाई महाधिवेशनमा स्वतः भाग लिन पाउँने व्यवस्था हुन्छ । एनजिओमा पनि यस्तै हुन्छ । पार्टीकै जिल्ला तहमा पनि यस्तो सुविधा हुन्छ भने केन्द्रका नेताले यस्तो सुविधा नलिने भन्ने हुँदैन । आरक्षण दोहोर्याउन हुँदैन भन्ने सामन्ती कुरा हुन : मीन विश्वकर्मा
# केन्द्रीय सदस्य तलबाटै निर्वाचित भएपछि मात्रै महाधिवेशन प्रतिनिधि हुनुपर्छ भन्ने विषय षडयन्त्रमूलक ढंगबाट आएको विषय हो । यस्तो प्रावधान राखिए यसले पार्टीलाई कमजोर बनाउँछ । पार्टीमा अनुशासनहीनता र भद्रगोल हुन्छ : शंकर भण्डारी
केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि हुन निर्वाचित हुने र स्वतः हुने भन्नेलाई ठूलो विषय नबनाउँ । एउटा निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि हुँदा केन्द्रीय सदस्य निर्वाचित भएर आउन सक्छन् । केन्द्रीय सदस्य भइसकेकाले यसलाई ठूलो विषय बनाउनु हुँदैन : दिलेन्द्रप्रसाद बडु
# महासमितिको वैठकमा सदस्यहरूले व्यक्त गरेका भावनाहरूलाई समेट्दै केन्द्रीय सदस्य पनि क्षेत्रीय प्रतिनिधिका रुपमा रही महाधिवेशन प्रतिनिधि हुन चुनाव लड्नु पर्छ । समावेशी आधारमा एक तहमा एक पटक मात्र अवसर प्राप्त गर्न पाउने व्यवस्था कायम गरी नेतृत्व विकासका लागि नयाँलाई अवसर दिनुपर्छ । जोशीले पार्टीको भावी रणनीति, अभियान, प्रतिपक्षीय भूमिकालाई प्रभावकारी र व्यवस्थित भ्रातृ संस्था बनाउनुपर्ने भन्दै ११ बुँदे प्रस्ताव पेश गरेका थिए : नविन्द्रराज जोशी
महासमिति बैठकको सुझावलाई समेटेर परिमार्जिनसहित विधान पारित गर्न कांग्रेस केन्द्रीय समितिको बैठक पटक पटक बसे पनि सदस्यकै फरक मतका कारण विधानलाई टुंगोमा पुर्याउन नसकेको हो। यस्तै केन्द्रीय समितिमा आरक्षणका विषयमा पनि नेताहरूबीच नै फरक धारणा आएको छ।
महासमिति बैठकले एक पटक आरक्षण पाइसकेको व्यक्तिलाई फेरी सोही पदमा आरक्षण दिन नहुने सुझाव दिएको थियो। यस्तै क्रियाशील सदस्यताका आधारमा आरक्षणको व्यवस्था गर्ने कि जनसंख्याका आधारमा भन्ने विषयमा पनि पार्टीमा मतभेद देखिएको छ।