काठमाडौं, २८ माघ २०७५ । नेकपाको विद्यार्थी संगठनले जनयुद्ध र जन आन्दोलनमा ज्यान गुमाउने सहिदहरुको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको छ ।
पार्टी एकता भइसके पनि विद्यार्थी संगठनको एकता नभएका कारण तत्कालीन दुवै पार्टी निकटका विद्यार्थी संगठनको सोमबार बैठक बसेको थियो ।
‘आगामी फागुन १ गते महान जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गर्ने सबै ज्ञात अज्ञात सहिदहरुको सम्मान र सम्झनामा संयुक्त रुपमा श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरियो’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘१ गते साँझ केन्द्रको तर्फबाट माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम हुने छ भने देशभरका सबै जिल्ला र क्याम्पसहरुमा आ-आफ्नो सापेक्षतामा संयुक्त कार्यक्रम गर्न निर्देशित गरिएको छ ।’
त्यस्तै, आगामी फागुन १४ गते स्ववियु निर्वाचनको मिति तय गरे पनि विश्वविद्यालय प्रशासनले निर्वाचनको कार्यतालिका प्रकाशनमा गरेको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।
साथै, फागुन १ गते हुने प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वागत गर्दै घोषणा कार्यक्रममा उत्सवमयी ढंगले सहभागिता जनाउन आम युवा विदयार्थीलाई अपिल गर्ने निर्णय पनि गरिएको छ ।