काठमाडौं, २५ माघ २०७५ । सरकारको काम कार्वाही र प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई ‘डिफेन्स’ दिंदै आएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारविरुद्ध नै गम्भिर प्रश्न उठाएका छन् ।
सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीलाई इंगित गर्दै पूरानै संरचना र कार्यशैलीतिर फर्किने प्रयासले मधेस र पहाडमा विकरात स्थिति सिर्जना हुने चेतावनी दिएका छन् । उनले सरकारले ल्याएका एने संविधानको मर्म अनसार छैन् कि छैनन् भन्ने प्रश्न उठाएका छन् । उनले संविधानको मर्मअनुसार ऐन बनाउनुका साथै त्यसको इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार आयोजित एक सार्वजनिक कार्यक्रम बोल्दै अध्यक्ष प्रचण्डले माओवादीलाई सिध्याई हालियो, अब जे गरे पनि हुन्छ भन्ने ठानिए त्यो दुर्भाग्यपूर्ण हुने चेतावनी समेत दिए ।
शुक्रबार ‘स्थानीय तह सञ्चालन ऐन ः न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तक विमोचन गर्दै प्रचण्डले भने, ‘कार्यान्वयनको प्रक्रिया हेर्दा स्थानीय र प्रादेशिक तहलाई संविधानले जुन मर्मका साथ व्यवस्था गरेको छ, त्यसअनुसार कार्यान्वयन हुन थालेको छ ? विस्तारै कमजोर त पारिँदै छैन ?’
शान्ति सुरक्षा, बजेटलगायतमा विषय सरकार संविधानको भावनाअनुसार नचलेको उनले आरोप समेत लगाए । उनले कसैको नाम नलिइकन भने, ‘सिंहदरबारबाट अधिकार प्रत्यायोजन गर्ने, कर्मचारी समायोजन गर्नेतिर ठीक ढंगले अगाडि बढेका छौं ? फेजआउट गर्नेतिर त गइरहेका छैनौं ?’ नेकपा अध्यक्ष प्रचण्डले भने, ‘सोच्नुपर्ने ठाउँमा जाँदैछौं ।’
उनले थपे, ‘माओवादीलाई सिध्याई हालियो भन्ने ठानियो भने दुर्भाग्यपूर्ण हुन्छ । अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाई हुने खतरा आउँछ ।’ नेकपा अध्यक्ष प्रचण्डले शान्ति सम्झौताको मर्म विपरीत पूराना मुद्दाहरुलाई पुलिसकहाँ पठाउने र पक्राउ गर्न थालिएको भन्दै असन्तुष्टि जनाए ।
‘हामीले शान्ति सम्झौतामा जे प्रतिज्ञा गर्यौं र संविधान बनाउँदा जे जति अधिकार प्रत्यायोजन गर्ने कुरा गर्यौं, त्यो इमान्दारिताका साथ लागू गरेनौं भने नचाहँदै–नचाहँदै द्वन्द्व हुन्छ ।’ पछिल्लो समय ‘भेनेजुयला वक्तव्य’ का कारण प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच फरक मत सार्वजनिक भइरहेका छन् । वक्तव्यको आधिकारितालाई लिएर नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच केहि असमझदारी सतहमा देखिएका छन् ।