दाङ, २५ माघ २०७५ । पश्चिम दाङको बबई गाउँपालिकाको न्यायिक समितिमा यस आर्थिक वर्षको माघ २४ गतेसम्ममा कूल ३५ उजुरी दर्ता भएका छन् ।

न्यायिक समितिका उपाध्यक्ष सावित्रा विकले दिनुभएको जानकारीअनुसार गत वर्षबाट जिम्मेवारी सरी आएका ३१ उजुरी र यस आर्थिक वर्षको हालसम्ममा परेका ३५ गरी जम्मा ६६ मुद्दा मध्ये ४८ लाई न्यायिक समितिले मिलापत्र गराउन सफल भएको छ भने एउटा मुद्दालाई जिल्ला न्याय निरुपण गर्न प्रशासन कार्यालय दाङमा पठाइएको उपाध्यक्ष विकले जानकारी दिनुभयो ।

हाल न्यायिक समितिमा १७ मुद्दा विचाराधीन अवस्थामा रहेका छन् । सो गाउँपालिकाका न्यायिक समितिमा आउने धेरै मुद्दामा जग्गा विवाद, बाटोघाटो, घरायसी झैझगडा, कुलोपानी, खेतीपाती नोक्सानीलगायतका रहेको न्यायिक समितिले जनाएको छ ।

“सामान्य विवाद भए पनि नागरिक न्यायिक समितिमा उजुरी लिएर गाउँपालिका आउँछन्, हामीलाई मुद्दा मिलाउन भ्याइनभ्याई हुने गरेको छ, मुद्दा मिलाउनमै व्यस्त रहनुपर्छ”, उपाध्यक्ष विकले भन्नुभयो । उहाँले न्यायिक समितिमा आउने मुद्दालाई मेलमिलापको नीतिबाट नै मिलापत्र गराइने गरेको बताउनुभयो ।

गाउँपालिकाको आफनै भवन नभएकाले इजलासको छुट्टै कोठा नभएको र साँघुरो कोठामा बसेर काम गरिरहेको पनि उपाध्यक्ष विकले बताउनुभयो । उहाँका अनुसार यसपटक भवन निर्माणका लागि जग्गा प्राप्त भएको र अब केही दिनमै निर्माणको काम अगाडि बढाउने गरी काम भइरहेको जानकारी दिनुभयो । आफ्नै भवन भए सेवा प्रवाहमा सहज हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हामीले अत्यन्तै चुनौतीपूर्ण तथा संवेदनशील काम गर्नुपर्छ, गम्भीरताका साथ चुनौतीलाई पनि अवसर मानेर काम गरिरहेका छौँ, विज्ञ कर्मचारी भएमा सजिलो हुने थियो ।” गत वर्ष स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी तोकिएको हो । रासस

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्