काठमाडौं, माघ २५
नेपाली कांग्रेसका युवा नेताहरु बुथ कमिटीको निर्वाचनबाट त्रसित देखिन थालेका छन । जारी केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश नेताहरु केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था पार्टी विधानमै राख्नुपर्ने पक्षमा उभिएका हुन ।
संस्थापन पक्षका अधिकांश र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका आधाजसो नेताहरू महासमिति बैठकमा गरिएको प्रतिबद्धताविपरीत केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने ब्यवस्थाको पक्षमा उभिएका हुन ।
कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार केन्द्रीय समितिको बैठकमा मानबहादुर विश्वकर्मा, फरमुल्लाह मन्सुर र वीरबहादुर बलायर, रामकृष्ण यादव र कल्याण गुरुङले केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था राख्नुपर्ने धारणा राख्नभएको छ ।
महासमिति बैठकमा पेस भएको विधानको मस्यौदामा उल्लेख रहेको केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्थालाई यसअघि केन्द्रीय कार्यसमितिले सर्वसम्मत पारित गरेकाले विधानमा त्यही व्यवस्था उल्लेख गर्नुपर्ने उहाँहरुको तर्क छ ।
‘बलबहादुर केसी र गुरुराज घिमिरेले बुथबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्थाको विषयमा कुनै धारणा नै राख्नुभएन, चन्द्र भण्डारी, डा नारायण खड्का र हृदयराम थानीले आफूहरूले नेताले जे निर्णय गर्छन्, त्यो मान्न तयार रहेको भन्दै तर्किए,’ ती नेताले भने ।
महासमिति बैठक समापन समारोहमा सभापति देउवा र नेता पौडेलले जिल्ला सभापतिले उठाएको माग केन्द्रीय सदस्य तलैबाट निर्वाचित भएर आउने व्यवस्था र समानुपातिक समावेशीलाई एकपटक मात्रै राख्ने व्यवस्था विधानमा राख्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
जारी केन्द्रीय समितिको बुधबारको बैठकमा बरिष्ठ नेता नेता पौडेल, उपसभापति विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले तलैबाट निर्वाचित भएर आउने व्यवस्था विधानमा राख्न सकारात्मक रहेको धारणा राख्नुभएको थियो ।
बैठकमा डा शेखर कोइराला र गगन थापाले भने सभापति र नेताले महासमिति बैठक समापन समारोहमा जनाएको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्नुपर्ने अडानमा उभिनुभएको छ ।
कोइरालाले केन्द्रीय समितिमा रहेका सबै बुथबाटै आउनुपर्ने व्यवस्था राख्नुपर्ने अडान राख्नुभयो । ‘केन्द्रीय समितिमा रहेका सबैजना बुथबाटै निर्वाचित हुने प्रावधान राखिनुपर्छ, समावेशी कोटाबाट एकपटक मात्रै केन्द्रीय समितिमा चुनाव लड्न पाउने व्यवस्था कायम गरिनुपर्छ,’ कोइराला र थापाको भनाई थियो ।