काठमाडौं, २२ माघ २०७५ । नेपाल विद्यार्थी संघले गरेको विरोध प्रदर्शनमा पक्राउ परेका अध्यक्ष नैनसिंह महर लगायतका विद्यार्थी नेतालाई तत्काल रिहाइ गर्न नेपाली कांग्रेसले माग गरेको छ।
सरकारको विरोधमा नेविसंघले मंगलबार बानेश्वरमा गरेको प्रदर्शनका क्रममा संघका अध्यक्ष नैनसिंह महर लगायतका करिब एक दर्जन विद्यार्थी नेतालाई पक्राउ गरिएको थियो।
त्यसैगरी पोखरामा भएको प्रदर्शनमा केन्द्रीय सदस्य भानु ढकाल, सागर सापकोटा, गोविन्द नेपाली, विधान लामिछाने लगायतका विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो।
शान्तिपूर्ण आन्दोलनमा विद्यार्थीहरूलाई पक्राउ गरिइएको भन्दै प्रेस विज्ञप्तिमार्फत कांग्रेसले आपत्ति जनाएको छ। तत्काल रिहाइको माग गर्दै सरकारलाई चेतावनीसमेत दिएको छ।
मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको यस घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको छ। यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दै गिरफ्तार गरिएका सबै विद्यार्थी नेताहरुको तुरुन्त रिहाइ गर्न नेपाली कांग्रेस सरकारलाई चेतावनीका साथ आग्रह गर्दछ।’