काठमाडौं, २२ माघ २०७५ । अर्थमन्त्री डा युवराज खतिवडाले साउदी अरेवियालाई नेपालमा लगानी गर्न उपयुक्त वातावरण भएको बताउनु भएको छ । अर्थ मन्त्रालयमा साउदी अरेबियाका राजदूत मुसैद विन सुलेइमन आइ मारवानसँग आज भएको शिष्टाचार भेटवार्तामा अर्थमन्त्री खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको प्रष्ट पार्नुभएको हो ।
भेटका अवसरमा अर्थमन्त्री खतिवडाले साउदी अरेवियासँग भएको स्रोत नेपालमा लगानीको लागि राम्रो अवसर भएकाले समयमै पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । नेपालको सिंचाई, ऊर्जा, भौतिक संरचना विकासका लागि साउदी कोषले सहयोग गरेकोमा साउदी सरकारलाई अर्थमन्त्री अतिवडाले धन्यवाद समेत दिनुभयो ।
उहाँले करिव ४ लाख नेपाली कामदार साउदी अरेबियामा कार्यरत भएको भन्दै साउदी अरेविया नेपालीका लागि दोस्रो घर भएको स्मरण गराउनुभयो । साउदी सरकारले नेपालीलाई रोजगारी दिएर केही हदसम्म नेपालको गरिबी न्यूुनिकरण, शिक्षा, स्वास्थ्य र जनजीवनको सुधारमा महत्वपूर्ण भूमिका खेल्नुका साथै नेपालको अर्थतन्त्रमा समेत सहयोग पुगेको भनाई व्यक्त गर्नुभयो ।
मन्त्री खतिवडाले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनमा साउदी अरेबियाका लगानीकर्ताहरुलाई बढि भन्दा बढि सहभागी गराउन दूतावास मार्फत सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो ।
नेपालमा गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउन लागेको जानकारी गराउदैं साउदी नागरिकलाई पर्यटकको रुपमा नेपाल भित्राउने र नेपाली कामदारलाई सिधै आवतजात गर्न सहज हुने उहाँले जानकारी दिनुभयो । जलवायु परिवर्तनको विश्वव्यापी मुद्दामा साउदी अरेबियाले नेतृत्वदायी भूमिका खेल्न अर्थमन्त्री खतिवडाले साउदी अरेबियालाई शुभकामना समेत दिनुभयो ।
भेटमा साउदी अरेबियाका राजदूत मुसैद विन सुलेइमन आइ मारवानले साउदी अरेबिया फण्ड मार्फत नेपालमा भूकम्पपछिको पुर्ननिर्माण, शिक्षा, स्वास्थ्य र निजीआवास निर्माणमा सहयोग गर्न विभिन्न चरणका छलफल र वार्ता अघि बढेको जानकारी दिनुभयो । नेपालमा लगानी र सहयोग गर्न साउदी अरेबिया तयार रहेको भन्दै राजदूतले दुबै देशबीच उच्चस्तरीय भ्रमण गरी सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
दुई देशको कूटनीतिक तथा राजनीतिक सम्बन्ध अझैं प्रगाढ र बलियो बनाउन साउदी सरकार तयार भएको भन्दै राजदूतले श्रमिकहरुका सम्बन्धमा हुन लागेका सम्झौता छिट्टै निश्कर्षमा पुग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्री खतिवडाले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनमा साउदी अरेबियाका लगानीकर्ताहरुलाई बढि भन्दा बढि सहभागी गराउन दूतावास मार्फत सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो ।
नेपाल–साउदी अरेबियाको कुटनीतिक सम्बन्ध चार दशकअघिदेखि नै रहेको बताउदै साउदी अरेबियाको विकास निर्माणका काममा नेपाली कामदारहरुको महत्वपूर्ण भूमिका भएकोमा राजदूतले खुशी व्यक्त गर्नुभएको थियो ।







































