काठमाडौं, माघ २०
व्यापारीलाई धम्काएर रकम असुली गर्ने चर्चित गुण्डा नाइके राजु गोर्खालीलाई प्रहरीले प्रक्राउ गरेको छ । निक्कै लामो समयदेखी खोजीको सूचिमा रहेका उनलाई नया बानेश्वरबाट प्रहरीले प्रक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखा एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले गोर्खालीलाई प्रक्राउ गरेको छ । काठमाडौंको सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको उजुरी परेपछि महाशाखाले उनलाई नियन्त्रणमा लिएको हो । कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिने गरेको थियो ।
सो समूहले कोषलाई कम भाडा दिएर व्यापारीहरुसँग चर्को रकम असुल्दै आएको थियो गुण्डागर्दी शैलीमा मलका व्यापारीलाई आतंकित पार्दै जबर्जस्ती रकम असुली गरेको जाहेरी परेकोले गोर्खालीलाई पक्राउ गरी हिरासतमा लिइएको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।
प्रहरीले गोर्खाली लगायतको समूहविरुद्ध संगठित अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रक्राउ गरेसगै उनलाई जिल्ला अदालतमा लैजाने र घटनामा संलग्न अन्यको पनि खोजी भईरहेको प्रहरीले जानकारी दिएको छ ।