काठमाडौं, १४ माघ २०७५ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रियसभामा टेबल गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सच्याएर पुनः ल्याउन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले सरकारले ७२ घण्टाभित्र पनि सो विधेयक डा गोविन्द के सी को माग अनुसार सच्याएर राष्ट्रियसभामा पुनः पेश नगरे संसद बहिष्कार गर्ने चेतावनी दिनु भयो ।
आफ्नो पार्टीको विरोधका बीच राष्ट्रिय सभाको सोमबारको बैठकमा सो विधेयक टेवल गरिएकोमा उहाले आपत्ति जनाउनु भयो । नेता पाण्डेले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सरकारले बलजफ्ती प्रतिनिधिसभाबाट पारित गरिएको सो विधेयक राष्ट्रियसभाबाट पनि पारित गराउन खोजेको भन्दै मान्य नहुने पार्टीको अडान पनि दोर्याए ।
नेता पाण्डेले आफ्नो पार्टीको मागअनुसार पार्टीका नेताहरुको नाममा स्थापना गरिएको २ वटा अस्पताल केन्द्र सरकारको मातहत राख्ने र डा गोविन्द केसीको माग सम्बोधन नगरेसम्म संसद र संसदीय प्रक्रियामा सहभागी नहुने चेतावनी दिँदै आएको छ ।
नेता पाण्डेले संसद सरकारको लाचार छायाँको रुपमा सञ्चालन गरिएको भन्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।