काठमाडौँ, १० माघ २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारलाई दुई तिहाइको दम्भमा विवेक नगुमाउन सुझाव दिएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकको विषयमा जानकारी गराउँदै प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाइको दम्भमा रातो झण्डा ओढाएर विवेकलाई कात्रो नओढाउन सुझाव दिएका हुन् ।

‘संसदमा पेस भएको चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजे कांग्रेस सशक्त भएर त्यसको प्रतिवाद गर्छ ।’, उनले भने, ‘डा।गोविन्द केसीको सत्याग्रहलाई लात हानेर विगतमा गरिएको सहमति विपरित विधेयक पारितका लागि बहुमतलाई रातो झन्डा ओढाएर विवेकलाई कात्रो नओढाउन सरकारलाई सुझाव छ ।’

सरकारले प्रतिपक्षीलाई बाइपास गरेर जान खोजे आफूहरु गीताको श्लोक सुनाएर नफर्किने बताए । प्रधानमन्त्रीलाई प्रतिक्षा गर्नु नै सरकारका लागि उत्तम विकल्प भएको भन्दै उनले प्रधानमन्त्रीको प्रतिक्षा गर्न संसदलाई आग्रह गरे ।

प्रवक्ता शर्माले कांग्रेस जारी केन्द्रीय कमिटी बैठकमा यसअघि महासमिति बैठकमा पेस भएका पाँचवटा प्रतिवेदनमा महासमिति बैठकमा आएका सुझाव समेटेर प्रतिवेदन तयार पार्ने बताए ।

उनका अनुसार पार्टीका उपसभापति विमलेन्द्र निधिको राजनीतिक प्रतिवेदन, महामन्त्री डा।शशांक कोइरालाको सांगठनिक प्रतिवेदन, पार्टीका अर्का महामन्त्री पूर्णबहादुर खड्काको विधान संशोधन प्रतिवेदन, सहमहामन्त्री डा।प्रकाशशरण महतको अर्थनीति सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको पार्टीको आय र व्यय विवरण समेटिएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

साथै बैठकमा नेविसंघको म्याद, डा।केसीको अनशन, जीपी कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताल, संवैधानिक परिषदले गरेको पछिल्लो निर्णय र निर्मला हत्या प्रकरणमा पनि छलफल हुने शर्माले जानकारी दिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्