काठमाडौंँ, माघ १० गते । नेपाली काँग्रेसको बिहीबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले नेपाली विद्यार्थी सङ्घ (नेविसङ्घ) को मौजुदा कार्यसमितिको भविष्य निर्धारण गर्ने छ ।
हालको कार्यसमितिको थपिएको अवधि पनि यही माघ २ गते सकिएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसङ्घको वर्तमान कार्य समितिको अवधि थप गर्ने वा नयाँ कार्यसमिति गठन गर्ने भन्ने निर्णय केन्द्रीय समिति बैठकले गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी, महासमिति बैठकले पारित गरेको पार्टीको विधानमा प्राप्त सुझावलाई समावेश गरी कार्यसमितिले विधानलाई अन्तिम रूप दिने छ । महासमिति बैठकले विधानमाथि प्राप्त सुझावहरूलाई मिलाएर राख्ने जिम्मेवारी कार्यसमितिलाई सुम्पेको छ ।
यस्तै, बैठकमा सरकारका गतिविधि, वाइडबडी जहाज खरिदमा अनियमितता भएको भनिएको, चिकित्सक प्राध्यापक डा. गोविन्द केसीको जारी अनसन, पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएका दुईवटा अस्पतालका विषय लगायतका विषयमा बैठकमा छलफल हुने छ ।
प्रवक्ता शर्माका अनुसार, बिहीबारको बैठकको पहिलो मुद्दा नै नेविसङ्घको मौजुदा कार्यसमिति भविष्य निर्धारण गर्न केन्द्रित हुने छ । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा बिहान ११ बजे बस्ने छ ।