काठमाडौं ९ माघ २०७५ । प्रतिनिधिसभाको बैठकमा आज पहिलो पटक सांसद र मर्यादापालकबीच घम्साघम्सी देखियो ।
नेपाली कांग्रेसका सांसदहरुले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ पेश गर्नबाट रोक्न खोज्दा घम्साघम्सी भएको हो ।
मर्यादापालकहरुले मन्त्री पोखरेललाई पोडियमसम्म पुग्नेगरी ठाउँ खालि गराउन विरोधमा उत्रिएका सांसदहरुलाई रोक्न खोजेपछि धकेलाधकेल हुन पुग्यो ।
यसअघि आजै पहिलो पटक बसेको बैठक पनि कांग्रेस सांसदहरुले विरोध गरेपछि १५ मिनेटका लागि स्थगित हुन पुगेको थियो ।
१५ मिनेटका लागि स्थगित भएको बैठक ३० मिनेटपछि सुरु हुँदा फेरि त्यस्तै विरोध भएपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले तनहुँमा स्थापना गरिएको गिरिजा प्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहतमा राख्न माग गर्दै सांसद बैठक अवरुद्ध पारेको हो ।
यस सँगसँगै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जसरी पनि पास गरेरै छाड्ने सत्तारुढ दल र पारित गर्नै नदिने प्रतिपक्षको अडानले पनि आजको स्थिति आएको हो ।
दोस्रो पटक संसद बैठक सुरु हुन पनि नपाउँदै कांग्रेसका सांसदहरु बसेको ठाउँबाट उठेर अगाडि पुगे ।
सभामुख कृष्णबहादुर महराले ‘मैले बैठक नै सुरु गरेको छैन, माननीय ज्यूहरु बसिदिनुहोला’ भने पनि कांग्रेस सांसदहरु अगाडि बढे ।
सभामुख महराले बैठक सुरु गर्दै ‘आज माननीय सदस्य ज्यूहरुले गल्ति गर्नुभयाे’ भन्न भ्याउनुभयो ।
यससँगै उहाँले ‘आजको संसदको कारबाही प्रारम्भ हुन्छ, कारबाहीको कार्यसूचीहरु अघि बढाउँछु, माननीय सदस्यज्यूहरु’ भन्न नपाउँदै कांग्रेस सांसदहरुले नाराबाजी गर्न सुरु गरे ।
विरोधका बावजुद पनि सभामुख महराले शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई शिक्षा तथा स्वास्थ्य समितिको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्न अनुमति दिनुभयो ।
त्यसलगत्तै प्रस्ताव पेश गर्न पोडियम लम्केका मन्त्री पोखरेललाई कांग्रेस सांसदले घेरा हाले ।
कांग्रेस सांसदको घेराबाट उम्काउन नेकपाका सांसद देव गुरुङ र खगराज अधिकारीले कोशिश गरेका थिए । तर कांग्रेस सांसदका अगाडि सफल हुन सकेनन् ।
झण्डै तीन मिनेट जति घम्साघम्सी हुँदा पनि मन्त्री पोखरेललाई पोडियममा जान कांग्रेस सांसदले रोकेपछि महराले फेरि १५ मिनेटका लागि संसद स्थगित गर्नुभयो ।
प्रतिनिधिसभाको बैठकमा आज पहिलो पटक यस्तो घम्साघम्सी देखिएको हो । प्रतिनिधिसभाको बैठकमा यस अघि यस्तो दृश्य देखिएको थिएन ।
संविधानसभाको बैठकमा तत्कालीन माओवादीले माइक भाँच्ने र कुर्सी उचाल्ने गतिविधि गरेको भए पनि पछिल्लो पटक स्थापना भएको प्रतिनिधिसभामा भने यस्तो दृश्य देखिएको थिएन ।
सोमबारको बैठक पनि कांग्रेसले अवरुद्ध गरेपछि बैठक मंगलबार आजका लागि सरेको थियो । आजको बैठक पनि अघि बढ्न नसकेपछि अब शुक्रबारका लागि तोकिएको छ ।