काठमाडौं, २ माघ २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले अनशनरत् डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा सांसद राधेश्याम अधिकारीले डा. केसीसँग आफैंले गरेका सम्झौता पालना नगर्ने सरकारका अगाडि नैतिक र कानुनी प्रश्न उठेको जिकिर गरे ।

उनले ‘प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलमा १५औं अनशनताका डा. केसीसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई कसले रोक्यो ?’ भन्दै प्रश्न गरे ।

यस्तै, कांग्रेस सांसद धनकुमारी खतिवडाले डा. केसी अनशन बसेको ८ दिन बित्दा पनि समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै ‘आफैं सम्झौता गर्ने र आफैं तोड्ने सरकारको रणनीति के ?’ भन्दै प्रश्न गरिन् ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सरकारले पूर्वप्रधानमन्त्रीद्वय स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलेका अस्पतालहरु विघटन गर्न लागेको भन्दै आपत्ति जनाए ।

उनले प्रतिपक्षी दलप्रति सरकारको यस्तै असहिष्णु व्यवहार जारी रहे राजनीतिक दुर्घटना निम्तिने चेतावनी दिए ।

बैठकको शून्य र विशेष समयमा सांसदहरु नैनकला ओझा, बद्री पाण्डे, मुक्तकुमारी यादव, रमेशजंग रायमाझी, रामलखन चमार, विमला राईलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

विधेयक पेस

यसैबीच, बुधबारको राष्ट्रियसभाको बैठकमा ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५’, ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७५’र ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५’ पेस भएका छन् ।

यस्तै, बैठकले प्रदेश लोकसेवा आयोग (आधार र मापदन्ड निर्धारण) विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्