काठमाडौंँ, १ माघ २०७५ । आदिवासी जनजातिको महान पर्व माघे सङ्क्रान्ति आज हर्षोल्लासपूर्वक मनाइँदै छ । माघ महिना मध्य हिउँदको एउटा महत्वपूर्ण महिना मानिन्छ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले यस दिनलाई माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्ति या माघीका रूपमा आआफ्नै विशेषता र सांस्कृतिक महत्वका साथै मनाइने गरिन्छ ।

नेवार समुदायमा ‘घ्युचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । संस्कृतिविद् सत्यमोहन जोशी भन्नुहुन्छ, ‘नेवार समुदायले यो दिन विशेष पर्वको रूपमा लिन्छन् । विहान चोखो भएर पहिले आफ्नो आमाको हातबाट तेल लगाइन्छ ।’ यसरी आमाको हातबाट तेल लगाउँदा टाउको दुख्ने जस्ता विभिन्न रोगविरुद्ध लड्न सक्ने क्षमता हुने जनविश्वास रहेको उहाँले जानकारी दिनुभयो । जोशीले यस पर्वमा चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने पनि बताउनुभयो ।

काठमाडौँ उपत्यका नजिकैको पनौतीमा ऐतिहासिक मकर मेला लाग्दछ, लिच्छवि राजा मानदेवका पालादेखि यो मेला सुरु भएको हो । माघे सङ्क्रतिको दिन तिलको पकवानका लागि प्रसिद्ध छ । तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाइएको लड्डुु विशेष परिकारको रूपमा लिइन्छ । घाममा बसेर तिलको लड्डु, ध्यु, चाकु, सख्खर, तरुल, हरियो लसुन, चिउरा खानाले रोगविरुद्ध लड्ने क्षमता हुने पनि जनविश्वास रहिआएको छ । यस्ता पोषिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्मरोग र जोर्नीका समस्या आदिबाट समेत राहत मिल्दछ ।

नवलपरासीको देवघाट, सुनसरीको चतरा, कालीगण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लाग्दछ । यसरी माघी नुहाइसकेपछि तिलको सुकेको बुट्यानलाई बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पापमोचन हुने जनविश्वास छ ।

मगर समुदायमा अलग्गै महत्व
आदिवासी जनजाति समुदायहरूमध्ये सबैभन्दा ठूलो समुदाय मगरहरूले माघे सङ्क्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । मगर समुदायले भाषाको हिसाबले बाह्र मगरात, अठारह मगरात र काइकेई मगर भाषा बोल्ने गर्छन् । माघे सङ्क्रान्ति पर्व पनि यो समुदायमा एउटा प्रकृति पुज्ने अवसरको रूपमा लिने गरिन्छ । प्राचीन कालमा मगरहरूको कृषि र सिकारमा आधारित जीवनशैलीलाई सङ्क्रान्तिले आत्मसात गरेको मगर राष्ट्रिय सङ्घका अध्यक्ष नवीन रोका मगरले जानकारी दिनुभयो ।

उहाँले माघे सङ्क्रान्तिदेखि पृथ्वी मकर रेखाबाट उत्तरतिर सर्ने हुँदा जाडो सिद्धिएर गर्मी मौसम सुरु हुने र माघे सङ्क्रान्तिदेखि रात छोटो र दिन लामो हुँदै जाने बताउनुभयो ।

माघ १ देखि गर्मी मौसम सुरु हुने हुँदा प्रकृतिसँग मिल्न शरीरलाई चिसो बनाइराख्न जमिनमुनि फलेको कन्दमूल, सखरखण्ड, तरुल खाने प्रचलन मगर समुदायमा रहेको जानकारी उहाँले दिनुभयो । मगर समुदायले माघे सङ्क्रान्ति पर्वमा मरेका पूर्वज एवम् पुर्खाहरूलाई पानी चढाउने ‘डी डाँके’ अर्थात् मगर भाषामा पानी चढाउने पर्वका रूपमा मान्ने पनि प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।

माघे सङ्क्रान्ति आउनुभन्दा अघि नै मगरहरूले घरघरमा जाँड राख्ने गर्छन्, उहाँले थप्नुभयो, पुस मसान्तको बेलुकी घरघरमा सेलरोटी, बारा बनाएर भोलिपल्टको परिकारहरूको लागि तयारी गरिन्छ ।

नेपाल मगर सङ्ले पुस ३० गते र माघ १ गते काठमाडौँको टुँडिखेलमा माघे सङ्क्रान्तिका विविध कार्यक्रम आयोजना गरेको छ ।

थारु समुदायको माघी
थारु समुदायको नयाँ वर्ष माघी पर्व २०७५ सुरु भएको छ । काम विशेषले उपत्यकामा बसोबास गर्ने थारु समुदायले हरेक वर्षझैं यसवर्ष पनि माघी महोत्सव मनाउँदै छन् । यसअघि टुँडीखेलमा मनाउँदै आएका थारुको महोत्सव यसपटक चुच्चेपाटीस्थित होटल हायात रिजेन्सी नजिकैको मैदानमा तय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १.०० बजे थारु माघी महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको थारु कल्याणकारिणीसभा (थाकस) का महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । मगर समुदायले टुँडीखेलमा माघे सङ्क्रान्ति महोत्सव मनाउने गरी बुकिङ गरेपछि थारु समुदायको महोत्सव चुच्चेपाटी पुगेको महामन्त्री चौधरीले बताउनुभयो ।

यद्यपि टुँडीखेलका मैदानका लागि गत वैशाखमै निवेदन दिएको थाकसले अन्तिम समयसम्म प्रयास गर्दा पनि सम्भव नभएको चौधरीले बताउनुभयो । उपत्यकासहित तराईका २२ जिल्लामा बसोबास गर्ने थारु समुदायले माघी पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन् । उपत्यकामा बसोबास गर्ने थारु समुदायले २०५९ सालदेखि हरेक वर्ष महोत्सवको आयोजना गर्दैआएका छन् । चुच्चेपाटीमा आयोजना हुने महोत्सवका लागि चावहिल चोकमा आज विहान १०ः३० बजे जम्मा भएर झाँकीसहितको ¥याली प्रदर्शन गर्ने तयारी भएको थाकसका सहमहामन्त्री मिनराज थारुले बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्