कैलाली,३० पौष २०७५ । नेपाल प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायु सेवा निगमको वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
सभापति देउवाले वाइड बडी प्रकरण आफ्नो नाम जोडेर अन्याय गरिएको भन्दै दुःख व्यक्त गरे ।उनले आफूले प्रधानमन्त्री हुनुभन्दा अघि नै वाइडबडीका बारेमा धेरै निर्णय भइसकेको बताए। मन्त्रीस्तरिय कुनै निर्णय नभएको कुराले आफूमाथि आरोप लगाएर अन्याय गरेको उनको ठहर छ।
उनले वाइडबडी प्रकरणमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको संलग्नता रहेको दाबी पनि गरे ।
सभापति देउवाले देशमा शान्ति सुरक्षाको अवस्था खस्कँदै गएको दाबी गरे । एक अर्को प्रसंगमा देउवाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारा र प्रमाण मेटाउनेलाई सरकारले नै संरक्षण गर्दा देशमा हत्या, हिंसा, बलात्कारलगायतका घटना बढेको समेत बताए ।