काठमाडौं, २३ पौष २०७५ । नेपाली कांग्रेसमा भर्खरै सम्पन्न महासमिति बैठकपछि आन्तरिक समिकरण फेरवदल भएको छ । लामो समयसम्म पानी बाराबारको व्यवहार देखाएका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच समन्ध सुमधुर भएको छ ।
१३औँ महाधिवेशनमा सभापतिमा एक अर्काका प्रतिष्पर्धी बनेका देउवा र पौडेल महाधिवेशन सकिएको करिब ३ वर्षपछि पुन एउटै समिकरणमा देखिएका छन् ।
महासमिति बैठक अघिसम्म संवादहीनताकै अवस्थामा रहेका देउवा–पौडेलबीच केहि घटनाक्रमले नजिक ल्यायो । २९ मंसिरमा काठमाडौँमा महासमिति बैठक सुरु हुँदासम्म पनि मा देउवा र पौडेलबीच सम्वन्ध तिक्ततापूर्ण थियो ।
तर, महासमिति बैठक समापनसभामा उनीहरुमा आएको व्यवहार र अभिव्यक्ति परिवर्तनले धेरैलाई चकित बनायो । त्यसबेला दुवै नेताले आफूहरुबीच डिप लभ परेको भन्दै घोषणा नै गरे ।
त्यसअघि पार्टी विधानमा सहमति जुटाउन नौ दिनसम्म चलेको रस्साकस्सी देखे बुझेका काँग्रेस नेता कार्यकर्ताले उनीहरुमा यस्तो पिरती बस्ला भन्ने कल्पनासम्म गरेका थिएनन् । दुबै नेताले समापन सभामा यस्तो घोषणा गरेपछि नेता कार्यकर्ता विश्वास गर्न बाध्य भए ।
त्यसपछि देउवा र पौडेल एकै ठाउँमा एउटै कार्यक्रममा सहभागी भएर आफूहरुबीचको टाढिएको सम्बन्ध नजिक भएको सन्देश दिइरहेका छन् । महासमिति सकिएलगत्तै आफूहरुबीच मुस्कुराएको पिरतीको सन्देश विस्तार गर्न दुवै नेताले ४० जिल्लाका सभापतिलाई संयुक्त ‘डिनर’ नै दिए ।
गत शुक्रबार साँझ शङ्खमूलको एक पार्टी प्यालेसमा काँग्रेस बिटका पत्रकारसँग देउवा र पौडेलले सँगै डिनर मिटिङ गरे । देउवा पौडेलको एकतापछि १३ औं महाधिवेशनमा तेस्रो धार निर्माण गरेका नेता कृष्णप्रसाद सिटौला समूहले महासमिति बैठकमा देउवा र पौडेलले पदीय खिचडी पकाएको आशङ्का गरेको छ ।
२०५५ सालमा ललितपुरको गोदावरीमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला र नेता कृष्णप्रसाद भट्टराईबीचमा पार्टी जिम्मेवारी कोइरालाले लिने र निर्वाचनमा पार्टीले जिते प्रधानमन्त्री भट्टराई हुने समहति थियो ।
देउवा र पौडेलबीच पनि सोही खालको सम्झौता भएको हुनसक्ने आकलन धेरै नेताहरुले गरेका छन् । टिक्छ या टिक्दैन भन्ने समयले बताउने कुरा भएको उनीहरुको भनाई छ ।
पार्टी संस्थागत ढङ्गले चलाउन प्रमुख नेताहरूको एकताले सहज हुन्छ । नेकपा नेतृत्वको सरकार लोकतान्त्रिक पद्धतिमा नहिँडेका बेला पार्टी नेता कार्यकर्ताको एकताबाट आशाको सञ्चार छाउँछ । तर, यो पिरती कहिलेसम्मलाई हो भन्ने प्रश्न भने अझै पेचिलो छ ।
पानी बाराबारको स्थितिमा रहेका देउवा र पौडेललाई लभ पारिदिने काम गर्ने प्रवक्ता विश्वप्रकाश शर्मा नै दुई नेताबीच लामो समयसम्म सम्वन्ध टिक्ला भन्नेमा विश्वस्त छैनन् । शर्मा भन्छन् ‘पार्टीको विधान पारित हुँदै गर्दा नेताहरुबीच एक प्रकारको विमति थियो ।
त्यो विमतिको बीचबाट अति नै राम्रो विधान ल्याउन सफल भएका छौँ । त्यो पनि सभापति र वरिष्ठ नेताबीचको एकताले नै सम्भव भएको हो । उहाँहरु आगामी दिनमा पनि एक भएर जाने कुरा पार्टीका लागि सुनमा सुगन्ध नै हो ।’
देउवा र पौडेल एकैस्थानमा आए पनि कांग्रेसमा औपचारिक रुप भने कायमै छन् । महासमितिमा नेताहरुले पार्टीभित्र बृहत् एकता कायम भएको दाबी गरेको एक साता नबित्दै गुटगत सक्रियता देखिएको छ ।
नेता कृष्णप्रसाद सिटौलासहितका नेताहरुले पार्टीमा आफ्नै छुट्टै अस्तित्व रहेको सन्देश प्रभाव देखाउन पत्रकार सम्मेलन गरे ।
१३ औं महाधिवेशनसँगै तेस्रो धारका रुपमा उदाएका सिटौला महासमिति सकिएलगत्तै पत्रकारहरूसँग भेटमा महासमिति बैठकको समापनमा सभापति देउवा र नेता पौडेलले गुटको राजनीति अन्त्य गरी एकताको सन्देशका लागि आफूहरुबीच ‘इमोसनल एट्याचमेण्ट’ र ‘डिप लभ’को कुरा गरे पनि आफ्नो लाइन फरक रहेको स्पष्ट पारे।
निकट केन्द्रीय सदस्यहरु गगनकुमार थापा, उमाकान्त चौधरी र शिव हुमागाईंसहित पत्रकार सम्मेलन गरेका सिटौलाले भद्रगोल र अव्यवस्थाबीच महासमिति सम्पन्न भए पनि सबै तहमा निर्वाचनको माध्यमबाट समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था खुला गरेको दाबी गरेरु। यसको अर्थ हो यो गुटले घोषणा नै गरेर आफू जीवित रहेको बुझायो । अभियान टाइम्सका साथमा ।