काठमाडौं, २१ पौष २०७५ । मिस शेर्पा २०७५ विजेता दाबुटी शेर्पा क्रोएसिया जानुहुने भएको छ । ‘मिस इन्टरनेसनल टुरिजम’मा भाग लिन दाबुटी त्यसतर्फ जान लाग्नुभएको हो । विश्वमाझ पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यले आयोजित प्रतियोगितामा नेपालीले पहिलोपटक भाग लिँदै छन्। भ्रमण वर्ष २०२० सफल बनाई २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा सहयोग गर्न नेपालको पर्वतारोहण र अन्य पर्यटकीय क्षेत्रको प्रचारमा जुट्ने तयारी थाल्नुभएको छ ।
२३ वर्षीया दाबुटीले क्रोएसियामा हुने प्रतियोगितामा भाग लिएर देशको पर्यटन प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने बताउँदै नेपाल हिमालै हिमालको देश भए पनि प्रचारप्रसारको अभावले पर्वतीय पर्यटनको विकास हुन नसकेको उल्लेख गर्नुभयो । गौरीशंकर गाउँपालिका–९, सिमीगाउँ दोलखाकी दाबुटी उत्कृष्ट आरोहीसमेत हुनुहुन्छ ।