गोरखा, पुस ९ । गोरखाको शहीद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ जोड्ने लुदीखोलामाथि पक्की पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङ र विश्व बैंकको आर्थिक सहयोगमा पुल निर्माण हुन लागेको हो ।

कूल रु तीन करोड ४४ लाख ३१ हजारको लागतमा पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमख राम पराजुलीले जानकारी दिए । विसं २०७६ असार मसान्तसम्म काम सक्ने गरी पुल निर्माणका लागि नीलगिरि अधिकारी जेभी काठमाडौंसँग ठेक्का सम्झौता भएको छ ।

कार्यालय प्रमुख पराजुलीले सम्झौता अवधिभित्र जुनसुकै हालतमा पनि पुल निर्माण भइसक्नुपर्ने बताए । ‘अन्य विकासको आयोजना जस्तो यसमा सम्झौता अवधि थप गर्न सकिने अवस्था छैन’, उनले भने, ‘विश्व बैंकको ग्रामीण विकास पूर्वाधार कार्यक्रमअन्तर्गत प्राप्त पुल निर्माणका लागि आएको यो कार्यक्रम असार मसान्तसम्म सम्पन्न गर्नै पर्छ ।’

पुलको कुल लम्बाइ २१ दशमलव ७ किलोमिटर रहनेछ भने चौडाइ ६ मिटरको हुने कार्यालय प्रमुख अधिकारीले बताए । उनले केही समय पहिलेनै पुल निर्माणको काम अघि बढ्नुपर्ने भए पनि जग्गा विवादका कारण केही ढिलाइ भएको बताए । ‘हिजो जग्गाको समस्या थियो अब कुनै समस्या छैन’, उनले भने, ‘ठेकेदार कम्पनीलाई सम्झौताको अवधिभित्र जसरी पनि काम सम्पन्न गर्न हामीले निर्देशन दिएका छौँ ।’

पुल निर्माण भएसँगै शहीद लखन गाउँपालिकाभित्र उत्पादन हुने कृषिजन्य सामग्रीको बजारीकरणका लागि सहज हुने अपेक्षा गरिएको छ । उक्त सडकखण्ड शहीद लखन गाउँपालिकाबाट मुख्य राजमार्ग पृथ्वी राजमार्गसँग जोडिएको सबैभन्दा छोटो दूरीको सडकखण्ड भएकाले पनि त्यहाँका स्थानीयवासीलाई राजधानी काठमाडौँ, पोखरा, चितुवनलगायतका शहर आवातजावतमा छिटो र सजिलो हुनेछ ।

झोलुङ्गे पुलसमेत नहुँदा त्यस क्षेत्रका स्थानीयवासीले बाह्रै महीना आवातजावतमा हैरानी खेप्दै आएका छन् । पुलको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले शिलान्यास गरेका हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्