काठमाडौँ, पुस ८ गते । विशेष गरी ठूला आयोजना समयमै सम्पन्न हुन नसकेर बारम्बार समय थपिरहनु पर्ने विषय नेपालमा नौलो होइन । दुई/तीन वर्षमै सम्पन्न हुनुपर्ने आयोजनाले दशक नाघेका उदाहरण पनि धेरै छन् तर दुईवटा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने तोकिएको लक्ष्यभन्दा पनि अघि बढेको छ । अर्थात लक्ष्यको शत प्रतिशत प्रगति गरेर ती आयोजना उदाहरणीय बनेका छन् ।
निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार र स्थानीय ठेकेदारबीचको नियमित विवादका कारण अन्योलमा परेको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कथा अहिले अर्कै छ । दिनरात धमाधम काम भइरहेको उक्त आयोजना अन्तर्गत अहिले कालोपत्रेको काम चलिरहेको छ । airport tayari
गत कात्तिक १४ मा शुरु भएको धावनमार्गको कालोपत्रेको काम छ महिनाभित्र पूरा हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालय अन्तर्गतका आयोजनाको पहिलो चौमासिक समीक्षामा यसको भौतिक प्रगति उत्कृष्ट छ, वित्तीय प्रगति पनि अन्य आयोजनाको तुलनामा बलियो छ ।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म यसको भौतिक प्रगति ११० प्रतिशत पुगेको छ । वित्तीय प्रगति भने ३३ प्रतिशत रहेको छ ।
सन् २०१९ को अगस्टदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मकै भौतिक प्रगति ५८ प्रतिशत पुगेको छ । सञ्चालनको लक्ष्य अनुसार अबको आठ महिनामा बाँकी ४२ प्रतिशत काम पूरा गर्नुपर्ने जिम्मेवारी आयोजनालाई छ । त्यस्तै हालसम्मको यसको वित्तीय प्रगति भने ४० प्रतिशत मात्र पुगेको छ । प्राधिकरणले चालू आवमा यस आयोजनाका लागि छ अर्ब ८३ करोड रुपियाँ विनियोेजन गरेकोमा कात्तिकसम्म तीन अर्ब ३८ करोड रुपियाँ विनियोजन भइसकेको छ ।
गौतमबुद्ध जस्तै कहिले ऋणको झमेला त कहिले निर्माण सामग्रीकै बन्दोबस्तीको अलमलमा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रगति पनि धेरै देखिन्छ । मन्त्रालयका अनुसार चालू आवको पहिलो चार महिनामा पोखरा विमानस्थलको भौतिक प्रगति शत प्रतिशत रहेको छ । वित्तीय प्रगति भने भौतिक प्रगतिको तुलनामा कम अर्थात २८ प्रतिशत मात्र रहेको मन्त्रालयको तथ्याङ्क छ ।
अहिलेसम्म पोखराको भौतिक प्रगति भने १८ प्रतिशत र वित्तीय प्रगति ३० प्रतिशत पुगेको छ । भौतिकभन्दा वित्तीय प्रगति धेरै हुने मन्त्रालयअन्तर्गतका गौरवका आयोजनामध्ये पोखरा एकमात्र आयोजना बनेको छ । प्राधिकरणले चालू आवमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि छ अर्ब ८० करोड रुपियाँ विनियोजन गरेको छ ।
त्यसमध्ये कात्तिकसम्म एक अर्ब रुपियाँ निकासा भएको प्राधिकरणले जनाएको छ । हाल उक्त विमानस्थलको धावनमार्गमा ‘स्लरी सिल’को काम पूरा भइसकेको र बाँकी ठाउँमा यसको काम जारी रहेको प्राधिकरणले जानकारी दिएको छ ।
मन्त्रालय आफैको विकास निर्माणको निम्ति हुनुपर्ने पुँजीगत प्रगतिको स्थिति भने त्यति उत्साहजनक नरहेको तथ्याङ्कले देखाएको छ । पहिलो चौमासिकसम्म केबल ९.१७ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । चार महिनामा चालू खर्च भने ७३.२७ प्रतिशत पुगेको छ । वित्तीय खर्चको स्थिति ६९.६९ प्रतिशत रहेको छ ।