ललितपुर, पुस ८ गते । विगत नौ दिनदेखि राजधानीमा जारी नेपाली काँग्रेसको महासमिति बैठकमा शीर्ष नेताहरुले सर्वसम्मत रूपमा पारित गरेको पार्टी विधान संशोधनको प्रस्ताव प्रस्तुत भएको छ ।
केन्द्रीय कार्यसमितिले निकै लामो समय लगाएर पार्टीको विधान संशोेधनको मस्यौदा पारित गरी शनिवार महासमिति बैठकमा छलफलका लागि प्रस्तुत गरिएको हो । विधान संशोधन मस्यौदा तयारी समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले विधानका मुख्य बुँदाहरू बैठकमा प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत विधानमा महासमिति सदस्यहरुले आफ्नो राय सुझाब राख्ने क्रम शनिवार पनि सकिएको छैन । आइतबारसम्म सबैको राय सुझाव आइसक्ने र महासमिति बैठक पनि सम्पन्न हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
शनिवार पार्टीका पूर्व सभापति एवं सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्तीको अवसरमा पार्टी कार्यालयमा राखिएको तस्बिरमा माल्यार्पण गरेर बैठक सुरु भएको थियो । यसअघि पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजल जेल परिसरमा पुगेर स्वर्गीय भट्टराईको सालिकको अनावरण गर्नुभएको थियो । सुन्दरीजल जेलमा स्वर्गीय भट्टराइले आठ वर्ष जेलजीवन बिताउनुभएको थियो ।
पार्टी कार्यालय सानेपामा जारी महासमिति बैठकको बन्द सत्रमा पार्टीको तर्फबाट प्रस्तुत भएका राजनीतिक, आर्थिक, र साङगठनिक प्रतिवेदनमाथि महासमिति सदस्यहरुले राय सुझाब दिने क्रम सकिएको र प्रस्तुत राय सुझाब सङ्कलन गरेको समितिले टिपोट गरेका राय सुझाब सम्बन्धित प्रतिवेदनका संयोजकहरुलाई हस्तान्तरण गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
शनिबारकै बन्द सत्रमा नेपाली काँग्रेस पार्टी र लोकतान्त्रिक फोरमबीच एक वर्षअघि पार्टी समायोजन हुँदाको दस्तावेजलाई पनि अनुमोदन गरिएको छ । उपसभापति विमलेन्द्र निधिले उक्त दस्तावेज बैठकमा अनुमोदनको लागि प्रस्तुत गर्नुभएको थियो ।
महासमितिको बैठक लम्बिएपछि कतिपय सदस्य आफ्नो क्षेत्र फर्किसकेका छन् । पार्टीको विधान दुई तिहाईको बहुमतले पारित गर्नुपर्ने प्रावधान छ । विधान संशोधन सर्वसम्मत रुपमा पारित भएको अवस्थामा दुई तिहाईको आवश्यकता नहुने जिकीर पार्टीका प्रवक्ता शर्माले गर्नुभयो । कुनै धारामा कसैको फरक मत रहेमा मात्र दुई तिहाइको खोजी हुने उहाँको भनाइ छ ।
बन्दसत्रमा बोल्ने अधिकांश महासमिति सदस्यहरूले ढिलै भए पनि विधान संशोधित भएर केन्द्रीय कार्यसमितिले सर्वसम्मत रुपमा पारित गरेकोमा सन्तुष्टि व्यक्त गरेका छन् । उहाँहरुले शीर्षनेताहरु एक ढिक्का भई गाउँ गाउँ पुगेर पार्टीभित्रको एकताको सन्देश प्रवाह गर्न ढिलो गर्न नहुने बताउनुभएको थियो ।