ललितपुर, ७ पौष २०७५ । प्रकृति र पितृको पूजा गरी आज किराँत समूदायको ठुलो चाड उधौली पर्व मनाइदैछ । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रूपमा मनाउन गर्दछन् ।

घरमा अन्न भित्र्याएको खुसीयालीमा प्रकृतिपूजक किरात राईले मंसिर शुक्ल पूर्णिमादेखि १५ दिनसम्म उधौली मनाउने गरेका छन् । बालीनाली राम्रो भएकोमा प्रकृतिलाई धन्यबाद दिन मनाइने यो पर्वमा किरात विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गर्ने गर्छन् ।

परम्परा अनुसार २ दिन अघि लिम्बुले चासो तग्नाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा सुनुवारले खोल स्यादर र राईले उधौली साकेला भनेर आज संयुक्तरुपमा मनाउने गरिन्छ ।

मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजको सम्मानस्वरुप यो पर्वमा भूमिपूजा गरिन्छ । त्यस्तै, अन्न राख्ने भकारीमा पूजा गर्नु, चूल्होमा कुखुराको बलि दिनु र ढोलझ्याम्टाको तालमा चरा, दुम्सीजस्ता पशुपंक्षीको अनुकरण गर्दै नाच्नु पनि यो पर्वको अर्को विशेषता रहेको छ । यो पर्वमा सबै उमेरका मानिसहरू आपसमा गोलो घेरा बनाएर नाच्ने गर्दछन् ।

प्रकृतिलाई खुसी राख्नका लागि किराँत राई समुदाय बाली लगाउने समय पारेर वैशाख पूर्णिमामा उभौली र अन्न बाली घरमा भित्र्याएपछि मंसिरे पूर्णिमामा उधौली पर्व मनाउने गर्छन् ।

नेवार समुदायले योमरी पुन्ही मनाउँदै

यता नेवारसमुदायले आजै योमरी पुन्ही हर्साेल्लासका साथ मनाउँदैछन् । तिहारमा देउसी–भैलो खेले जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवारी समुदायमा छ ।

सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बालबालिकादेखि बुढापाकासम्म सहभागी भई आज दिनभर योमरी मागिन्छ । इष्टमित्र, साथीभाइ, पाहुनालाई बाँडीचुडी खाने र खुवाउने परम्परा रहेको यो पर्वलाई माया, प्रेम, दया र करुणा आदान–प्रदानको रूपमा पनि लिने गरिएको छ । त्यसैगरि आज धान्यपूर्णिमा पनि भनिन्छ ।

विभिन्न धर्म र सम्प्रदायमा आज आ–आफ्ना दिवालीका साथै इष्टदेवको पूजा गर्ने गर्दछन् । पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना समेत व्यक्त गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्