काठमाडौं,७ पौष २०७५ । नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तारले नेपाली कांग्रेस धर्म निरपेक्षताबाट पछाडि फर्कनै नसक्ने र फर्कन नहुने कडा अडान राख्नुभएको छ । जारी महासमिति बैठकमा नेताहरु आफ्नो ब्यवस्थापनमा केन्द्रित रहँदा महासमिति सदस्यहरुले हिन्दु राज्यको पक्षमा हस्ताक्षर संकलन गरेपछि मुस्लिम संघका अध्यक्ष सत्तारले कडा प्रतिवाद गर्नुभएको हो ।

सत्तारले महासमिति बैठकमा नै नेपाल जस्तो बहजाती, बहु धर्म, बहु भाषी र बहुसंस्कृती देशमा धर्मको आडमा गरिने राजनीति अत्यन्तै घातक हुने भन्दै सवै प्रतिनिधि र शीर्ष नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउनु भयो । ‘किन यसरी साथीहरु लाग्नु भयो, कसैले बुझेका छैनन, कांग्रेस जतो पार्टीमा यस्तो जात वा धर्मको नारा लाग्नु दुर्भाग्यपुर्ण कुरा हो,’ कांग्रेसमा किन हिन्दु राष्ट्रको नारा लागिरहेको छ ? के हो यस्को कारण भन्ने जनताटाइम्स डटकमको प्रश्नमा अध्यक्ष सत्तारले भन्नुभयो, ‘धर्मको आडमा नेपाली कांग्रेस पार्टी चल्दैन, कांग्रेस मात्रै होइन, कुनै पनि पार्टी चल्दैन, चल्नु पनि हुन्न ।’

अध्यक्ष सत्तारले महासमितिमा पनि यही बिचार राखेको जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेसलाई बलियो बनाउन धर्म निरपेक्षताकै पक्षमा दृढताका साथ उभिनुको बिकल्प छैन । ‘नेपाल हिन्दु राष्ट्र हिजो पनि थिएन, आज पनि छैन, भोलि पनि रहन सक्दैन, हिजो राजा महेन्द्रले बिपी कोइराला नेतृत्वको जनप्रिय सरकार अपदस्त गरेपछि धर्मको आडमा केही समय सत्ता टिकाउन सकिन्छ कि भनेर हिन्दु राज्य बनाए, उनले ३० बर्ष निरंकश साशन गरे, आखिर धर्मको आडले काम गरेन, राजा पनि फलिए,’ सत्तारले भन्नुभयो ।

उहाँले बिपी कोइरालाका अनुयायीहरु नै अहिले हिन्दु राज्य भनेर हिडनु निकै दुखद भएको बताउनु भयो । ‘नेपालको बास्तविकता बुझेर नै नेपाल हिन्दु राष्ट्र हुन सक्दैन भनेर बिपी कोइरालाले घोषणा गर्नुभएको हो, कांग्रेसको चार तारामध्ये एउटा तारालाई धार्मिक स्वतन्त्रताको संकेत दिएका हो,’ कांग्रेसका निर्वाचित महासमिति सदस्यसमेत रहनु भएका मुस्लिम संघका अध्यक्ष सत्तारले भन्नुभयो ।

उहाँले आफ्नै पार्टी नेतृत्वको सरकारको पालामा जारी भएको र आफैले बनाएको संबिधान भन्दा बिपरित गएर कांग्रेस जस्तो पार्टीले धर्मको आडमा राजनीति गर्ने कुरा हुनै नसक्ने प्रष्ट पार्नुभयो । ‘आफ्नै सहमतिमा र आफ्नै नेतृत्वमा संबिधान जारी गर्ने कांग्रेस जस्तो पार्टी धर्म निरपेक्षताबाट पछाडि फर्कन सक्दैन, फर्कन हुँदेन, त्यस्तो महाभुल कांग्रेसले गर्नुहुन्न,’ सत्तारले भन्नुभयो । अध्यक्ष सत्तारले कांग्रेसको बिधानमा संबिधानले तय गरेको क्लष्टरअनुसार केन्द्रीय समितिदेखि वडासम्म समानुपातिक-समावेसी प्रतिनिधित्व गराउनु पर्नेमा समेत जोड दिनुभयो ।

‘मुस्लिम समुदायको प्रतिनिधित्व गराउन संबिधानले जात जातीको जुन क्लष्टर छुट्टयाएको छ, कांग्रेसले आफ्नो बिधानमा त्यहीअनुसार केन्द्रीय समितिको संख्या निर्धारण गर्नुपर्छ, समावेसी-समानुपातिक सिद्धान्तकै आधारमा प्रतिनिधित्व हुने ब्यवस्था गर्नुपर्छ, वडादेखि नै एक महिला र एक पुरुष सहभागिता रहने ब्यवस्था गर्नुपर्छ, यस्तो ब्यवस्था हुन सकेन भने हाम्रो कडा आपत्ति र असहमति रहन्छ,’ अध्यक्ष सत्तारले भन्नुभयो ।

कांग्रेसमा अहिले एक पटक केन्द्रीय सदस्य भएपछि १० बर्ष नपुग्दा हुन्छ, त्यसैले पार्टी कमजोर भएको छ, कांग्रेस पछाडि परेको छ, यसलाई चिर्न वडाबाटै सवै नेता कार्यकर्ता चुनिएर आउनु पर्ने ब्यवस्था राख्न जरुरी छ । सवै निर्वाचित भएर आउने ब्यवस्था राख्नुपर्छ

उहाँले सभापति शेरबहादुर देउवादेखि केन्द्रीय समितिका सवै नेताहरुसमेत वडाबाटै निर्वाचित भएर आउनु पर्ने ब्यवस्था गर्नुपर्ने प्रस्तावसमेत गर्नुभयो । ‘बिधानमा पार्टी सभापतिदेखि केन्द्रीय समितिका सवै सदस्यहरु पनि स्वत महाधिवेशन प्रतिनिधि होइन, चुन्न र चुनिनका लागि वडा तहबाटै निर्वाचित भएर आउने ब्यवस्था राख्नुपर्छ, यसो नगर्दा कांग्रेस कमजोर भएको छ,’ सत्तारले भन्नुभयो । उहाँका अनुसार काग्रेसमा अहिलेको ब्यवस्थाले एक पटक केन्द्रीय सदस्य निर्वाचित भएपछि १० बर्ष कार्यकर्ताको बीचमा कुनै पनि नेता जानु पर्दैन । सोही कारण नेता कार्यकर्ताबीचमा नपुग्ने, जनतामा नजाने प्रबृत्ति हावी भई पार्टी कमजोर भएको छ ।

‘कांग्रेसमा अहिले एक पटक केन्द्रीय सदस्य भएपछि १० बर्ष नपुग्दा हुन्छ, त्यसैले पार्टी कमजोर भएको छ, कांग्रेस पछाडि परेको छ, यसलाई चिर्न वडाबाटै सवै नेता कार्यकर्ता चुनिएर आउनु पर्ने ब्यवस्था राख्न जरुरी छ । सवै निर्वाचित भएर आउने ब्यवस्था राख्नुपर्छ,’ सत्तारको भनाई छ ।
सत्तारले पार्टीका प्रमुख नेताहरु आफ्नो ब्यवस्थापनमै केन्द्रित रहँदा महासमिति बैठक लम्बिएको र निरासा छाएको बताउनु भयो ।

नेपाल हिन्दु राष्ट्र हिजो पनि थिएन, आज पनि छैन, भोलि पनि रहन सक्दैन, हिजो राजा महेन्द्रले बिपी कोइराला नेतृत्वको जनप्रिय सरकार अपदस्त गरेपछि धर्मको आडमा केही समय सत्ता टिकाउन सकिन्छ कि भनेर हिन्दु राज्य बनाए, उनले ३० बर्ष निरंकश साशन गरे, आखिर धर्मको आडले काम गरेन, राजा पनि फलिए

‘महासमिति बैठक कि केन्द्रीय समिति बैठक भन्ने नै दुबिधा रह्यो, नेताहरु महासमिति राकेर आफ्नो ब्यवस्थापनमा केन्द्रित हुनुभयो, आफ्ना ब्यवस्थापन, आफ्नो मात्रै चिन्ता गर्दा बैठक लम्बियो, कांग्रेस जस्तो पार्टीका नेताहरुले आफ्नो ब्यवस्थापन होइन, देश र जनताको ब्यवस्थापनमा ध्यान दिनुपर्छ, धर्मको आडमा राजनीति गर्ने प्रतिगमन होइन, संबिधान कार्यान्वयन गर्दै मुलुकको कायापलट गर्ने अठोट लिन यो महासमतिले निर्णय गर्न जरुरी छ,’ सत्तारले भन्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्