- ADVERTISEMENT -

स्थायी कमिटी बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना र बचाउको वहस

December 21, 2018
1108
Shares
- ADVERTISEMENT -

काठमाडौँ, पुस ६ गते । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को गत शनिबारबाट जारी स्थायी कमिटी बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना र बचाउको वहस बिहीबार पनि कायमै रह्यो । पूर्व एमालेका नेताहरू सरकार र पार्टी नेतृत्वमाथि केही बढी आलोचक छन् भने पूर्व माओवादी केन्द्रका नेताहरूले तुलनात्मक रुपले विरोध कम गरिरहेको जनाइएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा बिहीबार आठजना स्थायी कमिटीका सदस्यले अध्यक्षद्वयको प्रतिवेदन र सरकारको कामकाजबारे केन्द्रीत भएर धारणा राख्नुभयो । पँैतालीस सदस्यीय स्थायी कमिटी बैठकमा बिहीबारसम्म ३४ जना सदस्यले आफ्नो धारणा व्यक्त गरिसक्नुुभएको छ । बाँकी सदस्यले आफ्नो धारणा व्यक्त गर्नुभएपछि सम्बोधनसहितको धारणा अध्यक्षद्वयले व्यक्त गर्नुहुनेछ ।

- ADVERTISEMENT -

Advertisement

बिहीबारको बैठकमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा स्थायी कमिटी सदस्य विष्णु रिमालले केही नेताहरुले पार्टी नेतृत्व र सरकारको आलोचना गरे पनि यस्तो अवस्था नरहेको बताउनुभयो । हनुमानले आफ्नो शक्तिको पहिचान गर्न नसके जस्तै ने क पाका नेताले पनि आफ्नो शक्तिको पहिचान गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो । CPN-Party-office
पार्टी एकता अहिले सङ्क्रमणकालीन अवस्थामा रहेकाले त्यसको व्यवस्थापनपछि मात्र पार्टी सही बाटोमा जाने उहाँले बताउनुभयो । “संक्रमकालीन अवस्थामा कैयौं योग्य नेता बाहिर हुनसक्छन् तर त्यसको व्यवस्थापन समयानुकूल हुँदैजान्छ” उहाँले नेतृत्वप्रति उठेका प्रश्नको बचाउ गर्दै गर्नुभयो । २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारले गरेको कामभन्दा वर्तमान सरकारले धेरै काम गरेको भए पनि त्यसको मूल्याङ्कन हुन नसकेको उहाँले गुनासो गर्नुभयो

स्थायी कमिटी सदस्य पम्फा भुसालले अध्यक्षद्वयको प्रतिवेदन सकारात्मक भए पनि बैठकमा आएको सुझावलाई समेटेर प्रतिवेदनलाई परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो । संघीय र प्रदेश सरकारको कामकाज प्रभावकारी बनाउन पार्टीको तर्फबाट संयन्त्र बनाउनुपर्ने सुझाव उहाँले दिनुभयो । पार्टी र सरकारको काम प्रभावकारी बनाउन पार्टी पङ्क्तिलाई सही ढंगले परिचालन गर्नुपर्ने बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

स्थायी कमिटीका अर्का सदस्य किरण गुरुङले नेतृत्वको कार्यशैलीले पार्टीमा आन्तरिक समस्या देखिए पनि त्यसलाई सुधार गरेर जानुपर्ने बताउनुभयो । जनताले यो सरकारलाई करिब दुई तिहाइ दिएको भएपनि त्यसको सदुपयोग गर्ने चुनौती रहेको उहाँले चर्चा गर्नुभयो । “दुई तिहाइ बहुमत काम गर्नका लागि जनताले दिएका हुन्,” गुरुङले भन्नुभयो, “दुई तिहाइले हौसिएर जनताको पक्षमा काम गर्नुपर्छ, जुन अहिलेको नेतृत्वको प्रमुख चुनौती हो ।”

बैठकमा नेतृत्वको आलोचना भएपनि त्यसलाई सहज ढंगले लिनुपर्ने भन्दै नेता गुरुङले सबैको सुझाव लिएर जनमुखी काम गर्न नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । सचिवालय सदस्य वामदेव गौतमले प्रस्तुत गर्नुभएका प्रतिवेदनको सकारात्मक पक्षलाई नेतृत्वले ग्रहण गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेता अमृत बोहराले सरकारको कामकाज पारदर्शी हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले केही नियुक्तिबारे चर्चा गर्दै राष्ट्रपतिजस्तो गरिमा भएको संस्थालाई विवादमा ल्याउने काम सरकारले गरिरहेको र त्यसलाई रोक्न आग्रह गर्नुभयो ।
बैठकमा सरकारका मन्त्रीहरूले दोहोरो सुविधा लिएको समाचारप्रति आफूहरुको ध्यानाकर्षण भएको बताउनुभयो । समाचारमा आएको विषयले आफूहरुलाई आश्चर्य लागेको मन्त्रीहरुको स्पष्टोक्ति थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भन्नुभयो, “म आफ्नो पारिश्रमक त आफै बुझ्दिन, इन्धन सुविधा कसरी बुझ्छु ?” सञ्चारमाध्यमले तथ्यभन्दा बाहिर गएर पूर्वाग्रही ढंगले समाचार दिएको उहाँले टिप्पणी गर्नुभयो ।

बिहीबारको बैठकमा नेताहरु पेशल खतिवडा, लिलामणी पोखरेल, चक्रपाणी खनाललगायतले धारणा व्यक्त गर्नुभएको पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । स्थायी कमिटीको बैठक शुक्रबार पनि जारी रहने नेकपा सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -