ललितपुर, ६ पौष २०७५ । नेपाली काँग्रेस महासमिति बैठकमा बिहीबार पनि विधान संशोधन प्रस्तावको मस्यौदा प्रस्तुत हुन सकेन ।

विधान संशोधन प्रस्तावको मस्यौदामा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति हुन नसक्दा महासमिति बैठकमा सहभागी सदस्यहरूले बिहीबार दिनभर घाम तापेर नै बिताउनुप¥यो ।

बिहीबार बिहानैदेखि पार्टीको केन्द्रीय पदाधिकारीको बैठक बसेर सहमति जुटाउने प्रयास गरेपनि अबेरसम्म सहमति हुन सकेन । बैठक साँझ ४:४५ बजे शुरु भएर केही बेर चलेपछि शुक्रवार बिहान ९:०० बजे पुनः शुरु गर्ने भन्दै स्थगित गरिएको थियो

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विधान संशोधन प्रस्ताबमा केन्द्रीय नेतृत्वको अधिकतम् सहमति जुटिसकेको र एकाध विषयमा सहमति जुट्न बाँकी भएकाले बिहीबारको बैठक ढिलो हुन पुगेको स्पष्ट पार्नुभयो । उहाँले पार्टीको विधानमा संशोधन प्रस्ताबमाथि कसैको पनि विमति नरहोस् भन्ने पार्टीको चाहना रहेका कारण केन्द्रीय समितिको बैठक निरन्तर बसिरहेको पनि बताउनुभयो ।

सभापतिबाट मनोनीत हुने संख्या बढाउनुपर्ने, पदाधिकारीमा समावेशीता हुनुपर्ने माग केन्द्रीय समितिमा उठेपछि बैठक सहमतिमा पुग्न नसकेको केन्द्रीय सदस्यहरूले बताएका छन् ।
बिहीबार महासमितिको बैठक दिनभर चल्न नसकेपछि बैठक स्थलमा केही महासमिति सदस्यले ‘नेपाली काँग्रेस जिन्दवाद, पार्टीभित्रको गुटबन्दी मूर्दावाद’को नार लगाएका थिए ।

महासमिति सदस्यहरूले केन्द्रीय नेतृत्वले सही ढंगले व्यवस्थापन गर्न नसक्दा, पार्टीभित्र गुट उपगुट हावी हुँदा महासमिति बैठक सुरु भएको एक सातासम्म पनि विधान संशोधनको मस्यौदा सदस्यलाई दिन नसकेको र भात मात्र खान बोलाएझँै व्यवहार भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्