काठमाडौं, ५ पौष २०७५ । कांग्रेसको जारी महासमिति बैठकमा १२ केन्द्रीय सदस्यहरुले शीघ्र महाधिवेशनको माग गरेका छन् ।

गत चैत वैशाखको केन्द्रीय कार्यसमितिको बैठकमा चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ लगायतका ६ जना नेताहरुले बुझाएको ५१ पृष्ठको प्रतिवेदन जारी महासमिति बैठकमा पनि बहसमा ल्याउने प्रयत्न गरिएको हो ।

सो प्रतिवेदनमा महासमिति लगत्तै शीघ्र १४ औं महाधिवेदनको तालिका बनाएर काम सुरु गर्नुपर्छ भन्ने माग गरिएको थियो ।

सोही प्रतिवेदनलाई बहसमा ल्याउन १२ नेताको तर्फबाट महासमिति सदस्यहरुलाई पुस्तिकाको रुपमा वितरण गरिएको हो। पुस्तिकामा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव तथा किरण यादवको नाम उल्लेख छ। उनीहरुले महासमिति सदस्यहरुलाई प्रतिवेदनबारे ५ पृष्ठ लामो व्याख्या पनि गरेका छन् ।

५१ सदस्यको प्रतिवेदन केही महिनाअघि हेटौंडामा भएको जिल्ला सभापतिहरुको भेलामा पनि वितरण गरिएको थियो ।

प्रतिवेदनमा कांग्रेसमा अस्तित्व संकट देखिएको र त्यसको मुक्तिको बाटो खोज्न अपिल गरिएको छ। त्यसका लागि कांग्रेसको वैचारिक धरातल स्पष्ट र समयानुकुल हुनुपर्ने आवश्यकता औंल्याइएको छ। वर्तमान कांग्रेस र कांग्रेसीको सबैभन्दा ठूलो समस्या हाम्रो अस्तित्वको संकट हो, प्रतिवेदनमा भनिएको छ, कांग्रेस र कांग्रेसीका लागि यस अस्तित्वको संकटबाट मुक्तिको बाटो अबको महासमिति बैठकले तय गर्नुपर्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्