काठमाडौँ, ४ पौष २०७५ । लामो रस्साकस्सीपछि कांग्रेस शीर्ष नेताहरू पदाधिकारी र केन्द्रीय सदस्य थप्ने सहमतिमा पुगेका छन् । अब सभापति र कोषाध्यक्षबाहेक उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई–दुईजना रहनेछन् । कोषाध्यक्षबाहेकका सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुनुपर्नेछ । कोषाध्यक्ष भने कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट सभापतिले मनोनीत गर्नेछन् ।
यसअघि कांग्रेसमा सभापतिबाहेक महामन्त्री दुई, उपसभापति, सहमहामन्त्री र कोषाध्यक्ष एक–एक गरी ६ पदाधिकारी थिए । सभापति, एक महामन्त्री र कोषाध्यक्ष मात्रै निर्वाचित हुनुपर्ने व्यवस्था थियो ।
सभापति शेरबहादुर देउवा पक्षले उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई–दुईजना राख्ने र तीमध्ये एक–एकजना मनोनीत गर्ने प्रस्ताव गरेको थियो । यही विवादले महासमिति बैठक दुई दिन लम्बिएको छ । मंगलबार दिउँसो बैठक स्थगित गरेर शीर्ष नेताहरूसहित विधान संशोधन मस्यौदा समितिका सदस्यहरू सहमति खोज्न छलफलमा जुटेका थिए । साँझ अबेर नेताहरू सहमतिमा पुगेका हुन् ।
त्यस्तै, केन्द्रीय कार्यसमिति पनि १ सय ६१ सदस्यीय बनाउने सहमति भएको छ । त्यसमध्ये ३३ सदस्य सभापतिले मनोनीत गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । अहिले केन्द्रीय समिति ८५ सदस्यीय छ । तीमध्ये २१ सदस्य सभापतिद्वारा मनोनीत हुन् ।
संस्थापन र नेता रामचन्द्र पौडेल पक्षको आ–आफ्नै अडानका कारण महासमिति बैठक सकिने कार्यसूची रहेको मंगलबार दिउँसोसम्म पनि विधानको प्रस्ताव बैठकमा पेस हुन सकेको थिएन । पौडेल पक्षले उपसभापति, महामन्त्री र सहमहामन्त्री तीन–तीनजना राखेर पदाधिकारी ११ सदस्यीय बनाउने र सबै निर्वाचित भएर आउनुपर्ने प्रस्ताव गरेको थियो ।
‘हामीले रामचन्द्रजीसहित सबै शीर्ष नेताहरूको सहमतिमा पदाधिकारीको विषय टुंगो लगाएका छौँ,’ उपसभापति विमलेन्द्र निधिले भने, ‘बुधबार १२ बजे केन्द्रीय समितिबाट यसलाई सर्वसम्मत रूपमा पारित गर्छौँ । बिहीबारसम्म छापेर सोही दिन बन्दसत्रमा विधान प्रस्तुत हुन्छ ।’
आठौँ महाधिवेशनसम्म सभापति मात्रै निर्वाचित
कांग्रेसमा ०४८ मा भएको आठौँ महाधिवेशनसम्म सभापतिको मात्रै निर्वाचन हुन्थ्यो । पदाधिकारी र सदस्य सभापतिले सहमतिमा मनोनीत गर्थे । नवौँ महाधिवेशनबाट मात्रै सभापतिसहित पाँच विकास क्षेत्रबाट पाँच सदस्य निर्वाचित हुनुपर्ने व्यवस्था गरियो । सो महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापतिमा निर्वाचित भए ।
दशौँ महाधिवेशनबाट सभापतिसहित १८ केन्द्रीय सदस्य निर्वाचित भए, १८ सभापतिले मनोनीत गरे । पार्टी विभाजन भएकाले ११औँ महाधिवेशन दुई कांग्रेसले छुट्टाछुट्टै गरे । १२औँ र १३औँ महाधिवेशनमा सभापति, एक महामन्त्री र कोषाध्यक्ष निर्वाचित भए । एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री सभापतिले कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट मनोनीत गरे । ६४ सदस्य महाधिवेशनबाट निर्वाचित भए, २१ सदस्य मनोनीत गर्ने व्यवस्था थियो ।
तीन दिन लम्बियो महासमिति
नेताहरूबीचको विवादका कारण विधान प्रस्तुत हुन नसकेपछि महासमिति बैठक तीन दिन लम्बिएको छ । २९ मंसिरमा उद्घाटन भएको बैठक मंगलबार सक्ने कार्यतालिका थियो । अब बैठक शुक्रबारसम्म चल्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । राजनीतिक, सांगठनिक, आर्थिक र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल जारी रहेको उनले बताए । चार दिनसम्म सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेसमा बन्दसत्र भइरहे पनि बिहीबार र शुक्रबारको बन्दसत्र केन्द्रीय कार्यालयमा गर्ने तयारी कांग्रेसले गरेको छ ।
नेताहरूको आलोचना, समान अवसरको माग
मंगलबारको बन्दसत्रमा बोल्ने अधिकांश सदस्यले पार्टी नेतृत्वमा भएको चरम गुटबन्दीकै कारण कांग्रेस पराजित हुनुपरेको बताए । उनीहरूले गुटबन्दी अन्त्य गर्दै संसद् र सडकको भूमिकालाई बलियो बनाउन शीर्ष नेतृत्वलाई सुझाब दिएका छन् । सबै कार्यकर्तालाई समान व्यवहार गर्न उनीहरूले नेतृत्वको ध्यानाकर्षण गराए ।
दुवै पक्ष विजयी मुडमा
पौडेल पक्षको निष्कर्ष स् देउवा अलोकप्रिय हुँदै गएका छन् । आउने महाधिवेशनमा सम्पूर्ण पदाधिकारी जित्न सकिन्छ । पदाधिकारी बढ्दा धेरै नेतालाई समेट्न सकिन्छ ।
देउवा पक्षको निष्कर्ष स् संस्थापनका रूपमा महाधिवेशन गराउँदा सुरुवाती प्रक्रियादेखि नै हाबी हुन पाइन्छ । अझ धेरै पदाधिकारी हुँदा इतरलाई भित्र्याउन र भित्रकालाई व्यवस्थापन गर्न सजिलो हुन्छ ।
हाम्रै अडानमा सहमति: कांग्रेस नेता पौडेल
सबैजसो पदाधिकारी निर्वाचनबाट आउने व्यवस्थालाई पौडेल समूहले आफ्नो विजयका रूपमा लिएको छ । आफूहरूको अडानअनुसार नै पदाधिकारी निर्वाचित गर्ने विषयमा सहमति भएपछि कांग्रेस नेता रामचन्द्र पौडेलले खुसी व्यक्त गरेका छन् । ‘हामीहरूले पदाधिकारी निर्वाचित हुनुपर्छ भन्ने अडान राखेका थियौँ, त्यसैमा सहमति भएको छ,’ उनले नयाँ पत्रिकासित भने, ‘प्रजातान्त्रिक पार्टीभित्र हामीले राम्रो अभ्यास सुरु गर्दै छौँ ।’
सभापति शेरबहादुर देउवाले उदारता देखाउँदा कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित गर्ने बाटो खुलेको उपसभापति विमलेन्द्र निधिले बताए । ‘शेरबहादुरले १४औँ महाधिवेशन जित्छ भनेर केही साथीहरूले सबै पदाधिकारी निर्वाचित हुनुपर्ने माग गरेका थिए,’ उनले भने, ‘तर, सभापतिले उदारता देखाउनुभयो । निर्वाचितबाट कुरा मिल्छ भने विधान रोक्नुभएन भनेर उहाँले मान्नुभएको हो । रामचन्द्रजीहरूले उपसभापति, महामन्त्री र सहमहामन्त्री तीन–तीन राख्नुपर्ने र सबै निर्वाचित हुनुपर्ने भन्नुहुन्थ्यो । तर, निर्वाचित गर्ने गरी ८ पदाधिकारी राख्न सभापति तयार रहनुभयो ।’
आफूहरूले पदाधिकारी निर्वाचित हुनुपर्ने व्यवस्थाको विरोध नगरेको र त्यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई अझै बलियो बनाउने निधिले बताए । ‘विधान सहमतिले टुंग्याउनुपर्छ भन्नेमा हामी लागेका हौँ, सबै पदाधिकारी निर्वाचित गर्ने व्यवस्थाले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने भएकाले ग्रहण गरेका छौँ,’ उनले भने, ‘संविधानको व्यवस्थाअनुसार सबै पदाधिकारी निर्वाचित गर्ने प्रावधान गरेर हामीले लोकतान्त्रिक प्रणालीमा नयाँ आयाम थपेका छौँ ।’
दुई पदाधिकारी थपिए, कोषाध्यक्षबाहेक सबै निर्वाचित
कांग्रेसमा यसअघि ६ पदाधिकारी रहँदै आएकोमा अब ८ पदाधिकारी हुने भएका छन् । जसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्रीको निर्वाचन हुने भएको छ । कोषाध्यक्षलाई सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनित गर्नेछन् ।
‘विधानमा पदाधिकारीको विषय टुंगो लगाएका छौं’ सह–महामन्त्री डा। प्रकाशशरण महतले भने, ‘अब ८ पदाधिकारीमा कोषाध्यक्ष मात्र मनोनित गर्ने र बाँकी पदाधिकारी निर्वाचित गर्ने सहमति भएको छ । बुधबार बिहान केन्द्रीय समिति बैठक बसेर अनुमोदन गर्छौँ ।’
यसअघि ६ पदाधिकारी हुँदा सभापति, महामन्त्री र कोषाध्यक्षको निर्वाचन हुने व्यवस्था थियो । एकएक उपसभापति, महामन्त्री र सहमहामन्त्री सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित गर्ने प्रावधान रहेको थियो ।
यसअघि केन्द्रीय समितिमा ८५ सदस्य हुने प्रावधान रहँदै आएको थियो । विधानको संशोधित मस्यौदामा एक सय ४१ सदस्यको प्रस्ताव गरिएको थियो । तर, कति सदस्यीय हुने भन्ने टुंगो लाग्न सकेको छैन ।