काठमाडौं, २९ मङ्सिर २०७५ । नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंमा सुरु भएको छ। महासमिति बैठक ३ पुसम्म संचालन हुँदैछ । राजधानीको एक पार्टी प्यालेसमा जारी उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवाले रुखमा पानी हालेर उद्घाटन गर्नुभयो ।
तीन तहकै निर्वाचनमा नेपाली कांग्रेसले अप्रत्यासित हार बेहोरेपछि नेताहरूले महासमिति बोलाउनुपर्ने माग गरेका थिए । लामो माथापच्चीपछि कांग्रेसको महासमिति बैठक आयोजना भएको हो । उद्घाटन लगत्तै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरियो। उद्घाटन शत्रपछि सुरु हुने महासमिति बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदन पेश हुने छ । पार्टीको विधान पनि महासमिति बैठकमा छलफलका लागि पेस गरिनेछ ।
बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापतिहरु, भात्तृ र शुभेच्छुक संस्था, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि, निर्वतमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी १ हजार ७ सय जना प्रतिनिधि सहभागी छन् ।
केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु बैठकमा सहभागी भएका छन् । शेर बहादुर देउवा सभापतिमा निर्वाचित भएपछि पहिलोपटक महासमिति बैठक भएको हो ।