काठमाडौँ, २९ मङ्सिर २०७५ । नेपाली काँग्रेसको महासमितिको बैठक शनिबार बिहान ११ः३० बजेबाट सिंहदरबारको पश्चिम प्रवेश द्वारअगाडि रहेको यगम्बर पार्टी प्यालेसमा सुरु हुँदैछ । महासमितिको उद्घाटन सत्र सकिएपछि बन्द सत्र सुरु हुनेछ । बैठकको सबै तयारी पूरा भएको जानकारी काँगे्रस प्रवक्ता विश्वप्रकाश शर्माले दिनुभयो ।
मङ्सिर २९ देखि पुस ३ सम्म चल्ने बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा। शशाङ्क कोइरालाले साङ्गठनिक प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आर्थिक आयव्ययसम्बन्धी प्रस्ताव र सहमहामन्त्री डा। प्रकाशशरण महतले पार्टीको भावी आर्थिक प्रस्ताव प्रस्तुत गरी छलफल गर्ने कार्यसूची छ । महामन्त्री पूर्णबहादुर खड्काको विधान मस्यौदासम्बन्धी प्रस्तावबारे बैठकमा छलफल जारी रहेको जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।
उपसभापति विजयकुमार गच्छदारसित पार्टी एकीकरण हुँदा भएको पूर्वसहमतिअनुसार उहाँको समूहबाट महासमिति बैठकमा दुई सय जना महासमिति सदस्य र १५० जना पर्यवेक्षक थप्ने निर्णय भएको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमितिको बैठकपछि सो जानकारी दिइएको हो ।
उद्घाटन सत्र सकिएपछि बन्द सत्र सुरु हुने, महासमिति सदस्यहरूलाई सात समूहमा विभाजन गर्ने र सबै प्रतिवेदनमाथि समूहगत छलफल गराएर निष्कर्ष पेस गर्ने व्यवस्था मिलाइएको छ । केन्द्रीय समितिले सर्वसम्मतिले ल्याएको कुनै प्रस्तावलाई समेत अस्वीकार गर्ने अधिकार महासमितिलाई छ । महासमिति बैठक काँगे्रसको दोस्रो सर्वोच्च निकाय हो । काँगे्रस प्रवक्ता शर्माले महासमिति बैठकमा करिब सत्र सय जना सहभागी हुने जानकारी दिनुभयो । २४० निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिला सदस्यसहित पाँच जनाका दरले एक हजार दुई सयजनाको सहभागिता रहनेछ ।
यसैगरी भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्था र विदेशस्थित जनसम्पर्क समितिबाट ९७÷९७ जना प्रतिनिधि बैठकमा सहभागी हुनेछन् । महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति तथा २६ जना सांसदले भने पर्यवेक्षककारूपमा भाग लिनेछन् । केन्द्रीय सदस्यहरू स्वतः महासमिति बैठकमा सहभागी हुनेछन् ।







































