गोरखा, १९ मंसिर – गोरखाको शहीद लखन गाउँपालिकाका दुई बालक विद्यालयबाटै हराएका छन् ।
गोरखा सदरमुकामको द वर्ल्ड क्यापिटल माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने १३ वर्षका प्रज्ज्वल राना र १४ वर्षका रोशन श्रेष्ठ मंगलबार बिहानदेखि हराएका हुन् ।
शहीद लखन गाउँपालिका –६, घैरुङ घर भएका सदरमुकाम बस्दै आएका प्रज्ज्वल र शहीद लखन गाउँपालिका –७, बुंकोटका रोशन बिहानी सत्रको पढाई सकेपछि हराएका हुन् । बिहान ६ देखि सवा ८ बजेसम्म बिहानी सत्रको कक्षामा बसेका उनीहरु खाना खाने छुट्टीमा घर नगई सम्पर्कविहीन भएका विद्यालयका प्रिन्सिपल जनक केसीले बताए ।
कक्षाकोठामा भएको झोला अरु साथीहरुको सहयोगमा झ्यालबाट लिएर हिँडेको साथीहरुले बताएका उनको भनाई छ । दिवा सत्रको कक्षामा उपस्थित नभएपछि तत्काल अभिभावकलाई जानकारी दिइएको केसीले जानकारी दिए । प्रहरी, बालकका आफन्त र विद्यालय परिवारले हिजैदेखि बालकद्वयको खोजी सुरु गरेको छ ।