- ADVERTISEMENT -

‘काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी’

November 30, 2018
907
Shares
- ADVERTISEMENT -

काठमाडौँ, मङ्सिर १४ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताउनुभएको छ ।

इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “काङ्ग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि सङ्घर्षरत रहेको पार्टी हो ।”

- ADVERTISEMENT -

Advertisement

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले नयाँ संविधानका मौलिक अधिकार र प्रजातान्त्रिक प्रावधानलाई अवमूल्यन गर्ने कोशिस भइरहेको उल्लेख गर्दै प्रजातन्त्रमाथि हुने कुनै पनि हस्तक्षेप काङ्ग्रेसलाई सह्य नहुने बताउनुभयो ।

काङ्ग्रेसकै नेतृत्वमा मुलुकको द्वन्द्व समाधान हुनुका साथै शान्ति प्रक्रिया सफल भएको अवगत गराउँदै उहाँले काङ्ग्रेसकै नेतृत्वमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान जारी भएको बताउनुभयो ।

सभापति देउवाले प्रजातान्त्रिक समाजवाद र समावेशीतालाई अङ्गीकार गरेको नयाँ संविधानले प्रजातान्त्रिक मौलिक अधिकारको सुनिश्चितताका साथै राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको बताउनुभयो ।

कार्यक्रममा पार्टीका उपसभापति विमलेन्द्र निधिले प्रजातन्त्र र मानवाधिकारका लागि दशकौँ लामो सङ्घर्षपछि काङ्ग्रेसकै नेतृत्वमा नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान पाएको बताउनुभयो । उहाँले नयाँ संविधान कार्यान्वयनका लागि काङ्ग्रेसकै नेतृत्वको सरकारले तीन तहका निर्वाचन सफलरुपमा सम्पन्न भएको धारणा व्यत्तः गर्नुभयो ।

काङ्ग्रेस महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकारले निर्वाचनमा वाचा गरेअनुसार जनतालाई सेवा प्रवाह गर्न नसकेको टिप्पणी गर्दै नेपालमा प्राकृतिक स्रोत साधनको अपार सम्भावना रहेको र मुलुकमा राजनीति स्थायित्व कायम भएकाले अब सबै मिलेर समृद्धितिरको यात्रामा अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारको नौमहिने अवधि जनताका काममा भन्दा आश्वासन र नारा बाँड्नमा मात्र सीमित रहेको उल्लेख गर्दै सरकार कामभन्दा बढी प्रोपगाण्डामा लागेको आरोप लगाउनुभयो ।

तरुण दलका पूर्वअध्यक्ष तथा पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणा, इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथका उपाध्यक्ष जस्टिन गलने, महासचिव अना पिर्तसाल्भा, तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, नेविसङ्घका अध्यक्ष नैनसिंह महरलगायतले विश्वमा प्रजातन्त्र स्थापना र संस्थागत गर्न युवाले खेलेको भूमिकामाथि प्रकाश पार्नुभयो ।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा समसामयिक विषयका विभिन्न विषयमाथि छलफल हुने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -