काठमाडौं , मंसिर १० | महिला हिंसाविरुद्धको १६ दिने अभियान शुरु भईरहदा घरभित्र नै महिलाहरु बढि हिसामा पर्ने एक तथ्यांकले देखाएको छ । विभिन्न प्रकारको हिंसामा परेका मध्ये करिव ६५ प्रतिशत महिला घरेलु हिंसाबाट प्रभावित हुने गरेको देखाएको छ ।

महिला पुनस्थापना केन्द्र (आरेक)ले गत जूनदेखि हालसम्म गरेको अध्ययन अनुसार १७४१ वटा हिंसाका घटनाहरू मध्ये सबैभन्दा बढी ११ सय ४० जनामाथि घरेलु हिंसा भएको छ भने १३० जनामाथि बलात्कार भएको छ । त्यस्तै ११ चेली बेचिए भने हिंसा सहन नसकेर १० जनाले आत्महत्या गरेको पाइएको छ । ओरेकले पछिल्लो एक वर्षका महिला हिंसाका घटनालाई समेटेर तयार पारेको अन्वेषी नाम पुस्तकमो सो तथ्य प्रकाशन गरेको छ ।

त्यस्तै गरी पुस्तकमा १७ प्रतिशत (२९५) महिलाहरू सामाजिक हिंसाबाट, २ प्रतिशत (३७) महिलाहरू बलात्कारको प्रयासबाट, ४ प्रतिशत (७२) महिलाहरू यौनिक हिंसाबाट प्रताडित भएका छन् । १ प्रतिशत (१३) महिलाहरूको हत्या, १ प्रतिशत (६) महिलाहरूको हत्याको प्रयास, (११) महिलाको बेचबिखन गरिएको र १९ महिलाहरुको बेचविखनको प्रयास भएको पाइएको छ भने, महिला हिसांकै कारण १० जनाले आत्महत्या गरेको घटनाहरु अभिलेखिकरण भएका छन् । महिलामाथि सबैभन्दा बढी आफ्नै श्रीमान्बाट ५३ प्रतिशत (९२९) र घरपरिवारका सदस्यबाट १७ प्रतिशत (२९८) हिंसा भएको पाईन्छ । यस तथ्याङ्कलाई विश्लेषण गर्दा सबैभन्दा बढी महिलाहरू आफ्नै घरमा असुरक्षित छन् । महिलाहरू आफ्ना भनिएका व्यक्तिहरूबाटनै बढी मात्रामा हिंसामा पर्ने गरेका छन् र नजिकका आफन्तहरूबाटै नै महिलाहरू असुरक्षित छन् भन्ने प्रमाणित गर्न यस तथ्याङ्कले सहयोग गरेको छ ।

ओरेकका अनुसार सबैभन्दा बढी हिंसा प्रदेश १ मा भएको छ । प्रदेश एकमा ५९५ जना हिंसाबाट पीडित भएका छन् । प्रदेश २ मा ४६२, ३ मा १०५, ५ मा ४१४, ७ मा १२७, र ६ मा २५ र ४ मा १३ वटा हिंसा भएको अनुसन्धानले देखाएको छ । ओरेकले घरेलु, सामाजिक, औनिक हिंसा, बलात्कार, बेचविखन र ओसार(पसार, हत्या, आत्महत्या र अन्य हिंसाको अध्ययन गरि प्रकाशन गरेको हो । सो पुस्तकको लोकापर्ण राष्ट्रिय मानव अधिकार आयोगका माननिय अध्यक्ष श्री अनुपराज शर्मा, नेपाल प्रहरीका एआइजी ठूले राई, संस्थाका कार्यकारी सदस्य दुर्गा कार्कीले गर्नुभएको थियो ।

घरेलु हिंसाबाट प्रभावित महिलाहरूको विवाह गर्दाको समयको उमेर हेर्ने हो भने ३५ प्रतिशत (३९९) ले १६ वर्ष भन्दा कम उमेरमा र ५९ प्रतिशत (६७५) ले १७ देखि २५ उमेरसम्ममा विवाह गरेको पाईएको छ । यो तथ्यले बालविवाह र छिटो समयमा हुने विवाह घरेलु हिसाको प्रमुख कारक तत्वका रुपमा रहेको देखाएको छ । कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष शर्माले महिला हिंसा मुक्त गर्नका लागि हालको समय सुनौलो अवसर प्रदान गरेको बताउनुभएको थियो । स्थानीय निर्वाचनको निर्वाचनसँगै स्थानीय स्तरमा नै जनप्रतिनीधि र त्यसमा पनि महिला जनप्रतिनीधिको संख्या उल्लेख्य रहेको र जनप्रतिनीधीले समुदायस्तरदेखि महिलाको मानव अधिकार सुनिश्चितताका लागि कार्य गरेमा देश हिंसा मुक्त हुने बताउनुभएको थियो । महिलाको न्यायमा पहुँच सुनिश्चितताका लागि राष्ट्रिय मानव अधिकार आयोग, प्रहरी र ओरेकजस्तो संघसंस्थाको संयुक्त सञ्जाल बनाएर हिंसाका घटनाहरको अनुगमन र न्यायका लागि कार्य गर्नका लागि सुझाव दिनु भएको थियो ।

नेपाल प्रहरीका एआईजि राईले हिंसाको रोकथाम र प्रभावितको न्यायका लागि प्रहरीको भुमिका अग्रणी हुनेप्रति आफु सचेत भएको र महिला हिंसा अन्त्यका लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
यसैगरी, संस्थाका वरिष्ठ कार्यक्रम संयोजक श्री सबिता पोखरेलले महिला हिंसाको वर्तमान अवस्थालाई उजागर गर्नुभयो । उहाँले कञ्चरपुरको निर्मला हत्याकण्ड र गोदाचौरको सामूहिक घटनाले कानून कार्यान्वयन तह फितलो भएको बताउदै स्थानीय तहले लैगिक सामानता कायम गर्न संरचनात्मक रुपान्तरणमा नेतृवदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्