- ADVERTISEMENT -

“प्रथम ताकुकोट न्वागी महोत्सव” मंसिर १२ र १३ गते

November 24, 2018
1611
Shares
- ADVERTISEMENT -

गोरखा, मङ्सिर ८ गते शनिबार । गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका वडा नं ६ मा अवस्थित माइ भगवती मन्दिर (माईथान मन्दिर) मा न्वागीको अवसर पारेर “प्रथम ताकुकोट न्वागी महोत्सव २०७५” को आयोजना गरिने भएको छ । गोरखा-ताकुकोट सेवा समाज काठमाडौॅ र बारपाक सुलिकोट गाउँपालिका वडा नं ६ को संयक्त आयोजनामा यहि मङ्सिर १२ र १३ गते महोत्सब हुने गोरखा-ताकुकोट सेवा समाज काठमाडौॅका अध्यक्ष रेशम लाल श्रेष्ठले जानकारी दिनुभयो ।

गोरखा जिल्लाको उत्तरी भेग बारपाक सुलिकोट गाउँपालिका वडा नं ६ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल माइ भगवती मन्दिर (माईथान मन्दिर) परिसरमा हरेक वर्ष धुमधामका साथ न्वागी पर्व मनाउने गरिन्छ । न्वागी पर्वमा अघिल्लो दिन निराहार बसी रातभर मन्दिरमा पूजा गर्ने तथा बत्ति बाल्ने गरिन्छ भने भोलि पल्ट बिहान साइत हेरेर न्वागी खाने काम गरिन्छ ।

- ADVERTISEMENT -

Advertisement

प्रत्येक वर्ष कात्तिक महिनाको १५ गते भन्दापछि उपयुक्त दिन हेरी माइ भगवती मन्दिरका पुरोहितले कात्तिके पुजा गर्ने गर्दछन् र सोहि पुजाको दिनमा मुट्ठी लिने तथा न्वागी खाने दिन जुराउने गरिन्छ । मुट्ठी लिने भन्नाले किसानले खेतमा फलाएको धानको एक गाँज पुजा गरी उक्त धानको गाँज बाला सहित काटी घरमा ल्याउने चलन हो । यसरी विधिवत रुपमा मुट्ठी लिएपछि मात्रै खेतको धान काट्ने गरिन्छ । यसरी काटिएको नयाँ धान कुटेर सो धानको चामलमा दहि, केरा, तिल, नरिवल आदि मिसाइ दहि चामल खाने गरिन्छ । यसरी खाइने दहि चामललाई ‘न्वागी खाने’ भन्ने चलन छ । दहि चामल खाने दिन दिउसो मन्दिरमा बोकाको बलि सहित विशेष पुजा एवं होम गर्ने तथा ठुलो मेला लाग्ने गर्दछ ।

ताकुकोटको न्वागी मेला ठ्याक्कै कहिले सुरु भयो भन्ने यकिन तथ्याङ्क नभए पनि माई भगवती को उत्पत्ति संगसंगै करिब ४०० वर्ष पहिले देखि न्वागी पर्वको थालनी भएको र सो पर्वमा मेला लाग्ने गरेको स्थानिय नल प्रसाद सुवेदी भन्नुहुन्छ । प्रत्यक्ष रुपमा कृषिसंग जोडिएको यो पर्वको सामाजिक तथा सांस्कृतिक महत्व पनि उत्तिकै रहदै आएको छ ।

न्वागी मेलामा ताकुकोट र आसपासका गाउँ ताकुमाझ लाकुरीबोट, पन्द्रुङ, देउराली, मसेल, गाँखु, श्रीनाथकोट, जौवारी, सिम्जुङ, सौरपानी, स्वाँरा, धादिङ, लमजुङ, तनहुँ, चितवन, काठमाडौँ लगायतका जिल्लाबाट श्रदालु भक्तजनहरु आउने गर्दछन् ।

मेलामा विभिन्न समुदायको पहिचान झल्कने झाँकीका साथमा जातिय पहिचान बोकेको मारुनी, सोरठी, चुड्का, भजन, झ्याउरे लगायतका नाचहरु देखाउने गरिन्छ । यो पर्वलाई ताकुकोट बासीहरुले हर्षाेल्लाष पुर्ण ढंगले धुमधाम पुर्वक मनाउने गर्दछन् ।

न्वागी किसानहरूले नयाँ अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । खेतबाट नयाँ अन्न भित्र्याएपछि आफ्ना देवीदेवता र पितृलाई न्वागी चढाएर मात्रै नयाँ अन्न खाने परम्परा चलि आएको छ । यही परम्परा अनुसार ताकुकोटमा रहेको माईथानमा पनि न्वागी चढाउने परम्परा चलिआएको छ । न्वागीकै लागि घरभन्दा टाढा रहेका परिवारहरु पनि घर फर्कने गर्दछन् भने टाढा टाढाका आफन्तहरु समेत न्वागीका लागि ताकुकोट आउने गर्दछन् ।

उक्त महोत्सबमा राष्ट्रिय स्तारका ख्याति प्राप्त कलाकार बिष्णु खत्री, जानकी तारमी मगर, प्रकाश भट्ट, संजय गुरुङ, सागर गुरूङ, बल्छी धुर्वे , राजु मास्टर र अन्य स्थानीय कलाकारहरूको बिजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -