- ADVERTISEMENT -

ओली सरकार पूर्ण रुपमा असफल, भ्रष्टाचार महामारीजस्तै फैलियो : सुजाता कोइराला

November 22, 2018
900
Shares
- ADVERTISEMENT -

काठमाडौं, ६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छिन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ कोइरालाले भनिन्,‘मलाई त आश्चर्य लागेको छ, यत्रो दुई तिहाई बहुमतको सरकार छ, विकास होला भन्ने लागेको थियो ।

- ADVERTISEMENT -

Advertisement

तर, सरकार यो ९ महिनामा पूर्ण रुपमा ‘फेलियर’ भयो । मुलुकमा स्थिरताको साटो अस्थिरता देखियो । विकास निर्माणका कामले गति लिन सकेनन् । कर बढाएर जनतालाई भार थप्ने काम गर्यो । जनतालाई अप्ठ्यारो अवस्थामा पुर्याईएको छ।’

उनले वर्तमान सरकारले जनताको हितमा एउटापनि काम गर्न नसकेको गम्भिर आरोप लगाईन् । उनले भने,‘म आँफै आश्चर्यमा परेकी छु, कि प्रजातन्त्रमा यत्रो दुई तिहाई बहुमत भनेको त एकदमै महत्वपूर्ण कुरा हो । दुई तिहाई बहुमतको सरकार पनि सफल भएन भने यो एकदम खतरनाक हुनसक्छ ।

र, उहाँहरुले किन सरकार चलाउन नसकेको हो ? अहिले देश यत्रो भ्रष्टाचारले भरिएको छ । यति भ्रष्टाचार, यति भ्रष्टाचार कि त्यसको कुनै सिमा नै छैन् ।

साँच्चि भनेको मैले त कल्पना पनि गरेको थिईंन कि नेपालमा यत्रो भ्रष्टाचार, यति फाष्ट भ्रष्टाचार महामारी फैलिएजस्तो फैलिएको छ । भ्रष्टाचार अहिले ग्रास रुटसम्म पुगिसक्यो । यो चाहीँ देशको लागि खतरनाक हो ।’

आफूहरुले यसलाई गम्भिर भएर समाधान गर्न नसके मुलक गम्भिर समस्यामा जाने उनको चिन्ता छ । उनले भनिन्,‘यो सब कारण नेपाली कांग्रेस कमजोर भएर नै हो । त्यसैले अब हामी गम्भिर हुनुपर्यो । हामी नेपाली कांग्रेस अब अगाडि बढ्छौं । अब यो देशको रक्षा गर्छौं । देशमा सुरक्षा दिन्छौं । र, यो देशको विकास पनि गर्छौं भनेर हामीले प्रतिबद्धता जनाएका छौं । अब प्रतिबद्धताहरु पूरा गरेर देखाउँछौं ।’

नेतृ कोइरालाले अब ढिला नगरीकन पार्टीको संगठनलाई बलियो बनाउने काममा आफूहरु लाग्ने पनि सुनाईन् । उनले भनिन्,‘अब पार्टीको संगठन विस्तार गर्नुपर्छ ।

यो कामलाई गाउँ÷गाउँमा लगेर तल्लो तहमा पुर्याउनुपर्छ । हामी तीन जना कोइरालाहरु सशांक, शेखर दा र म एक छौं । अहिले पार्टीभित्र व्यापक गुटबन्दी छ, यसलाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग छ । हाम्रो चिन्ता अब पार्टीलाई एक बनाउने भन्ने नै हो ।’

आफूहरुको चिन्ता भनेको नै संगठनलाई बलियो बनाउने भएकोले को सभापति बन्छ ? या बन्दैन भन्ने कुरा त्यो पछिको कुरा भएको उनको स्पष्टोक्ति छ । उनले भनिन्,‘समय आएपछि सबैजना बसिकन् सल्लाह गरेरमात्रै को सभापति बन्छ ? त्यो कुरा हुन्छ ।

तुर, अहिले भने हामीहरु तीन जना एकजुट भईकन अगाडि बढेका छौं । र, हामीहरु तीन जनाले अब जिल्ला÷जिल्ला घुम्नुपर्ने पनि आवश्यकता मैले देखें । मोरङमा पनि उत्साह देखियो । जिपी कोइराला फाउण्डेशनको कार्यक्रममा पूर्वाञ्चलका सबै साथीहरु आउनुभयो । ठूलो उर्जा देखियो, अब यसलाई ढिला नगरी विस्तार गर्छौं ।’

उनले अहिलेपनि कांग्रेसका कोही पनि नेता तथा कार्यकर्ता निराशा बन्नुपर्ने अवस्था नरहेको जिकिर गरिन् । उनले भने,‘कांग्रेस अहिलेपनि बलियो छ । पहिलापनि धेरै चोटी नेपाली कांग्रेस सिद्दियो÷सिद्दियो भन्ने हल्ला हुन्थ्यो । तर, फेरी कांग्रेस चुनाव जितेर आउँथ्यो ।

यस्तोपनि हामीले देखेका छौं । यो प्रजातन्त्रमा विश्वास गर्ने पार्टी हो । नेपाली जनताले प्रजातन्त्र चाहेका छन् । जनताले प्रजातन्त्रलाई नै पहिलो प्राथमिकता दिएका छन् । जनताको आवश्यकत्ता र भावनाअनुसार नै कांग्रेसले आन्दोलन गरेको ईतिहाँस छ ।’

उनले कांग्रेस अहिले कमजोर भयो भन्ने हल्ला भैरहेको सुनाउँदै तर अहिलेपनि आफ्नो पार्टी बलियो नै रहेको जिकिर गरिन् । उनले भनिन्,‘हामीले निर्वाचनमा सिट कम ल्याएका हौं । तर, यही समय सँधै रहिरहन्छ भन्ने छैन् ।

जनताको बिचमा हाम्रो साथीहरु जानुहुन्छ । उहाँहरुले पार्टी बचाउनुहुन्छ भन्ने मलाई पूरा विश्वास छ । यदि कसैले प्रजातन्त्रलाई मास्छु, समाप्त पार्छु भन्ने सोचेको छ भने त्यो आँफै समाप्त हुन्छ । तर, देश समाप्त हुँदैन् । प्रजातन्त्र समाप्त हुँदैन् ।’

कांग्रेस बलियो हुँदा देशमा विद्यमान सबै समस्या समाधान भएको पनि उनले सुनाईन् । उनले भनिन्,‘कांग्रेस बलियो हुँदा देशको सबै समस्या सम्बोधन गरेको छ । शान्ति प्रक्रियादेखि लिएर हरेक कुराको समाधानपनि कांग्रेसले नै गरेको हो ।

मुलुकमा जतिपनि अस्थिरता हुन्छ, त्यसको समाधानपनि कांग्रेसले नै दिएको छ र दिन्छ । यो मुलुकलाई फेरी उचाइमा लिएर जान्छौं । देशमा गर्व गर्ने दिन फेरि आउँछ । त्यो दिन धेरै पर छैन् ।’

फरक प्रसँगमा उनले पार्टीभित्र सबै नेताको आ–आफ्नै ठाउँ, भूमिका, स्थान, क्षमता अस्तित्व रहेको सुनाउँदै भनिन्,‘सबैले सभापतिमा लड्नपनि सक्दैनन् । एउटै पद दश जनाले लिनपनि सक्दैनन् । त्यसैले मलाई लाग्यो, बरु म ब्याक भएर सहयोग गर्छु, अगाडि बढ्नुहोस् । राम्रो काम गर्नुहोस् ।

जो कोही पनि सभापति हुन सक्छन् । कोइराला नै हुन्छन् भन्ने छैन् । कोइरालाहरु अहिले एकजुट भएको कारण पनि पार्टी बचाउनकै लागि हो । अरु केही होईन् । संगठनलाई बलियो बनाउनकै लागि हो । पदको लागि होईन् । अस्ति भर्खरै शशांक र शेखर कोइरालाले बोलिपनि सक्नुभएको छ ।

र, म पनि तपाईहरुलाई त्यो भन्न चाहन्छु अरु पार्टीमा धेरै साथीहरु हुनुहुन्छ । सबैको आफ्नो आफ्नो ठाउँमा संघर्ष गरेको ईतिहाँस छ । जिम्मेवारी लिएर काम गरेको सबैको अनुभव छ । सबैजना हामी मिलेर नै जानुपर्छ ।’

सबैले पार्टीलाई नै प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । नेतृ कोइरालाले भनिन्,‘पार्टी नै बलियो भएन भने हाम्रो कुनै अस्तित्व छैन । नेपाली कांग्रेस कमजोर भयो भने देशपनि कमजोर हुन्छ भन्ने कुरा त हामी देखिराखेका छौं ।’

कांग्रेसको नेतृत्वमा कोइराला परिवारबाट शशांक कि शेखर भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्,‘त्यो अहिले म भन्न सक्दिन् । के हुन्छ ? कसरी हुन्छ ? भन्ने कुरा अहिले कसरी भन्ने ? यो त पछिको कुरा हो । अरु साथीहरुपनि हुनुहुन्छ । अहिले समय आएको छैन् । समय आएपछि उहाँहरु बस्नुहुन्छ । सल्लाह गर्नुहुन्छ । अहिले त संगठन गर्ने बेला हो । त्यसको लागि हामी अघि बढ्छौं ।’

त्यस्तै नेतृ कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कार्यशैली तत्काल नसच्याए पार्टीलाई ठूलो क्षति हुने पनि दाबी गरिन् । उनले भनिन्,‘शेरबहादुर देउवाजीले आफ्नो कार्यशैली बदल्न सक्नुहुन्छ भने बललिँदै राम्रो हुन्छ । नत्र त्यसले पार्टीलाई क्षति पुर्याईरहेको छ ।

यो कुरा सत्य नै हो ।पार्टीमा गुटबन्दी बढ्दै गैराखेको छ । हामीले कसलाई दोष दिने ? पार्टीलाई एकतावद्ध गर्ने जिम्मेवारी देउवाजीले लिनुपर्छ ।’

आउने महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा उम्मेद्धवारी दिन पार्टीभित्र मोर्चाबन्दी बन्छ त ? भनेर सोधेको अर्को प्रश्नमा उनले भनिन्,‘सभापति बन्नको लागि अब सबैजनाको तयारी त भैरहेको छ नि । अरुपनि छन् । देउवामात्रै हुनुहुन्न यो पार्टीमा, धेरैजना हुनुहुन्छ । धेरै जनाको ईच्छा छ सभापति बन्ने ।

त्यही बेलामा हामी छलफल गर्छौं । को उपयुक्त हुन्छ र को सबैभन्दा बलियो हुन्छ ? उही सभापति बन्छ । अहिले देउवाजीलाई हराउने वा पछार्ने कुरा नगरौं । त्यो त्यही बेलाको कुरा हो । अहिले पार्टी बनाउने कुरा गरौं ।’
सभापति देउवाकै कारण पार्टी कमजोर बनेको उनको आरोप छ ।

उनले भनिन्,‘उहाँले गरेका केही गल्ती र क्रियाकलापहरुले त कांग्रेस धेरै कमजोर भएको छ । चुनाबभन्दा अघिपनि उहाँले लिएका निर्णयहरु सही थिएनन् । त्यसले चुनावमा नकरात्मक प्रभाव पार्यो । र, हामी चुनाव हार्यौं पनि । कांग्रेसले बाटो बिराउँदै गरेकोले यो पार्टीको यो दुरदशा हामीले भोग्नुपरिरहेको छ ।’

उनले पार्टीको सिद्धान्त भनेको नै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भएकोले यही सिद्धान्त टेकेर अघि बढ्यो भने अर्को चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउनेमा आफूलाई पूरा विश्वास रहेको पनि सुनाईन् । उनले थपिन्,‘तर, हाम्रो एकता हुनुपर्छ । पार्टीभित्र एक भईकन हामी अगाडि बढ्नुपर्छ ।’

कांग्रेसभित्र हिन्दूराष्ट्रको कुरा नउठेको पनि उनले दाबी गरिन् । उनले भनिन्,‘यो कुरा त कहिल्यै उठेकै छैन् । अहिले त्यस्तो कुरा केही पनि छलफलमा आएको छैन् । अब नउठेको कुरालाई मैले कसरी भनुँ ?’

नेपालको विदेश नीति अहिलेपनि पञ्चशीलमा आधारित सिद्धान्त नै सान्दर्भिक रहेको उनले सुनाईन् । उनले भनिन्,‘ भारतसित हाम्रो खुल्ला सिमा छ । हाम्रो व्यापारपनि भारतसँग भैरहेको छ । विद्यार्थीहरु एक्सचेन्ज भैरहेको छ । धर्म, संस्कृति, भाषा, भेषभुषा पनि मिल्छ । भौगोलिक हिसाबलेपनि हामी भारतसँग नजिक छौं ।

हाम्रो सम्बन्ध धेरै राम्रो हुनुपर्छ । सम्बन्ध राम्रो भएन भनेदेखि मुलुकलाई पनि त्यसले धेरै क्षति पुर्याउन सक्छ । हाम्रो मुलुकलाई विकास गर्नुछ । सहयोग लिनुपर्छ । चीनको पनि सहयोग लिनुपर्छ ।’

चीनपनि असल र राम्रो छिमेकी भएकोले उसँगपनि सहयोग लिन सक्नुपर्ने उनको धारणा छ । उनले भनिन्,‘तर, हाम्रो डे–टु–डे बिजनेश छन्, खुल्ला बोर्डर भएकोले समस्याहरु पनि छन् । त्यसलाई समाधान गरेर जानुपर्छ । र, समाधान गर्ने क्षमतापनि राख्नुपर्छ ।

हाम्रो बीचमा आपसी विश्वास पनि हुनुपर्छ । र, सत्य पनि बोल्नुपर्छ । हामीले आफ्नो हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । विशेषगरि भारतसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ । भारतसँग कुराकानी गर्नपनि सजिलो छ । र, झगडा गर्नपनि सजिलो छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -