मंसीर, २ । नेपाली कांग्रेस अाफ्नाे भातृसंगठन नेपाल विद्यार्थी संघको विवाद मिलाउन आज पनि बैठक बस्दै छ । नेपाल विद्यार्थी संघको विधान अनुसार गएको साउनमै महाधिवेशन सक्नु पर्ने भएपनि मिति टरेको ४ महिना बित्न लागिसक्याे तर, अझैसम्म पनि संघको महाधिवेशन कहिले हुन्छ भन्ने बारे टुंगो लाग्न सकिरहेकाे छैन ।

पछिल्लो पटक कार्तिक १६ गतेदेखि काठमाडौंमा १२ औं महाधिवेशन गर्ने भनिएकोमा संघको संशोधन गर्न लागिएको विधानमा ३२ वर्षे उमेर हदमा विवाद बढेपछि महाधिवेशन स्थगित भएकाे हाे।

संघका सभापति नैनसिंह महर नेतृत्वको दुई वर्षे कार्यकाल भदौमा नै सकिएको भए पनि महाधिवेशन गर्न तीन महिनाको समय थप गरिएको थियो । थप गरिएको तीन महिनामा पनि महाधिवेशन गर्न महर नेतृत्वको समितिले नसकेपछि संघ भंग गर्ने कि यही नेतृत्वलाई फेरि समय थपेर महाधिवेशन गर्न दिने भन्ने विषयले विवाद निम्त्याएकाले अाज बस्ने बैठकले त्यसकाे निर्क्याैय गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । अध्यक्ष महर नेतृत्वको संघको थपिएको समयावधि आजैदेखि सकिने भएकाले आज वैकल्पिक निर्णय गर्नै पर्ने बाध्यतामा कांग्रेस पुगेकाे हो ।

केन्द्रीय समितिबाट संस्थापन पक्षले बहुमतका आधारमा उमेर हद ३२ वर्ष हुने निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले त्यसमा असन्तुष्टि जनाउँदै उमेर हद हटाउनुपर्ने माग राखेकाे छ ।

२०७३ मा सम्पन्न ११ औं महाधिवेशनले नै १२ औँ महाधिवेशनबाट ३२ वर्षे उमेरहद लाग्ने विधानमै स्वीकृत गराएको थियो । ३२ वर्षे उमेर हद नेविसंघको दीर्घकालीन हितका लागि अनिवार्य र उपयुक्त रहेकाले ११ औँ महाधिवेशनले पारित गरेको थियो ।

यद्यपि, विद्यार्थी संगठनको नेतृत्व युवामा नै रहनुपर्नेमा कांग्रेसका सबै नेताहरु सहमत छन् । तर उमेर हदका कारण आफ्ना मान्छे पाखा लाग्ने देखेपछि उमेर हद राख्न नहुने भन्दै पौडेल पक्षधर विरोधमा उत्रिएको हो ।

नेपाली कांग्रेसको शनिबार हिजाे हुने भनिएको बैठक पनि उमेर हद विवादकै कारण बस्न नसकेपछि सरेको हो । अाज बस्ने बैठकले महाधिवेशन गर्न यही नेतृत्वलाई निरन्तरता दिने वा यसलाई भंग गरेर अर्को तदर्थ समिति बनाउने भन्नेमा निर्णय गर्ने छ ।

सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्ष पुरानै कार्यसमितिलाई म्याद थपेर महाधिवेशन गराउने पक्षमा छ । तर रामचन्द्र पौडेल पक्ष भने विधानअनुसार वर्तमान कार्यसमिति भंग गरेर तदर्थसमिति गठन गरी तदर्थ समितिलाई निर्वाचन गर्ने जिम्मा दिनुपर्ने पक्षमा छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्