काठमाडौँ, मङ्सिर २ गते । नेपाल विद्यार्थी सङ्घको विधान पारित गर्ने र महाधिवेशनको मिति तय गर्ने उद्देश्यले बोलाइएको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आपसी विवादले आइतबारसम्मका लागि स्थगित भएको छ ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक बसे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता बैठक कक्षमै प्रवेश गर्नुभएन तर पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले गर्नुभएको पहलबाट सहमतिमै बैठक आइतबारका लागि सरेको हो ।
उहाँहरुले वरिष्ठ नेता पौडेलसहितका नेताहरुसँग गर्नुभएको छलफलपछि बैठक एक दिन सार्ने र सहमतिकै आधारमा महाधिवेशनको मिति र नेविसंघको विधान टुङ्गोमा पु¥याउने सहमतिपश्चात् बैठक सरेको हो । नेविसंघको अवधि आइतबारबाट सकिँदैछ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठक छोटो समयका लागि सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको जानकारी दिनुभयो । उपसभापति विमलेन्द्र निधिले अन्य नेताहरुसँगको छलफलको निष्कर्ष सुनाएपछि बैठक स्थगित भएको थियो । बैठक आइतबार २ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रवक्ता शर्माले नेविसंघको यही कार्यसमितिको अवधि थप गरेर महाधिवेशन सम्पन्न गराउने जिम्मा दिने वा नयाँ तदर्थ समिति गठन गर्ने भन्ने निर्णय आइतबार हुने जानकारी दिनुभयो ।
- ADVERTISEMENT -
केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार, नेविसंघको विषयमा सहमति जुटाएर बैठकमा प्रस्ताव पेश गर्नका लागि महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेललाई जिम्मा दिइएको छ । सहमहामन्त्री महत नेविसंघको महाधिवेशनसम्बन्धी समन्वय गर्ने समितिको संयोजकसमेत हुनुहुन्छ ।
उता नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले वर्तमान कार्यसमितिको अवधि थप गरेर महाधिवेशन सम्पन्न गर्न जिम्मेवारी दिनुपर्ने विद्यार्थीको माग रहेको बताउनुभयो ।
पार्टीले तीन महिनासम्म संघको विधान स्वीकृत नगर्दा महाधिवेशन हुन नसकेको हो । वैधानिक ढोका बन्द गरेर झ्यालबाट छिरेर तदर्थ समिति गठन भए मान्य नहुने भनाइ नेता भट्टको छ । वर्तमान कार्य समितिको अवधि थप गर्नुपर्छ र तदर्थ समिति गठन गर्नुपर्छ भन्ने दुई पक्षबीच पार्टी कार्यालय सानेपामा शनिबार नाराबाजीसमेत भयो ।
नेविसंघको विषयले विवाद भएपछि कांग्रेसको राजनीतिक समितिले मङ्सिर २ गतेका लागि आयोजना गरेको प्रदेशस्तरीय छलफल पनि प्रभावित हुने देखिएको छ । सभापति देउवा, वरिष्ठ नेता पौडेल र उपसभापति निधि केन्द्रीय समितिको बैठक बस्ने भएपछि नजाने हुनुभएको छ ।
आइतबार प्रदेश २ को जनकपुर र गण्डकी प्रदेशको पोखरामा हुने यो कार्यक्रम भने यथावत सञ्चालन हुने जानकारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।